
एजेन्सी । भारतको मध्य प्रदेशस्थित ग्वालियरमा अनियन्त्रित ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । घाइतेमध्ये पाँचदेखि छ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।
ग्वालियरको शीतला माता मन्दिर नजिकै आइतबार बिहान दुर्घटना भएको हो । वरिष्ठ प्रहरी अधीक्षक धर्मवीर सिंहका अनुसार चिनोरबाट मन्दिरतर्फ आउँदै गरेको धान बोकेको ट्रकले ओरालोमा नियन्त्रण गुमाएको थियो ।
भारी सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको उक्त सडकमा ट्रकले प्रहरीका अवरोधसमेत पार गर्दै तीर्थयात्रीहरूलाई ठक्कर दिएको थियो। त्यसपछि ट्रक मन्दिरको बाहिरी पर्खाल र ढोकामा ठोक्किएको सिंहले बताए ।
दुर्घटनामा घाइते भएका ३९ जनालाई अस्पताल पुर्याइएको थियो । तीमध्ये १२ जनाको मृत्यु भएको उनले जानकारी दिए । घटनामा ड्युटीमा रहेका दुई प्रहरी कर्मचारीसमेत घाइते भएका छन् । ग्वालियरकी जिल्ला अधिकारी रुचिका चौहानका अनुसार उद्धारका लागि तत्काल एम्बुलेन्ससहितका सवारीसाधन परिचालन गरिएको थियो।
दुर्घटनाको कारण पत्ता लगाउन ट्रकको प्राविधिक परीक्षण गरिने भएको छ । नवरात्रका बेला राखिएका प्रहरी अवरोध र जाँच चौकी पार गरेर ट्रक प्रतिबन्धित सडकमा कसरी प्रवेश गर्यो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको चौहानले बताएकी छन् ।



















