यस वर्ष दुई दिन महाअष्टमी, दुवै दिन पूजा–आराधना गर्नुपर्ने

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २, सोमबार ०६:४७

काठमाडौं। यस वर्ष नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीका धार्मिक कर्म गर्नुपर्ने भएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोअनुसार कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी परेको हो ।

समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक १ गते महाअष्टमीका दिन गरिएका धार्मिक कर्म कात्तिक २ गते पनि दशैँघर वा पूजा कोठामा दोहोर्‍याउनुपर्ने छ।

कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि अष्टमीका दिन गरिने कर्म भने दोहोर्‍याउनुपर्ने उनले बताए । उक्त दिन नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा–आराधना गर्नुका साथै महाअष्टमीका अन्य धार्मिक विधिसमेत सम्पन्न गर्नुपर्नेछ। आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने समितिबाट स्वीकृत पात्रोमा उल्लेख छ।

अष्टमी तिथि दुई दिन परेकाले यस वर्ष नवरात्र दशरात्र बन्न पुगेको छ। यसअनुसार विजयादशमीका दिन टीका लगाउँदा १० रात्रिका जमरा लगाइनेछ। धर्मशास्त्रविद्हरूका अनुसार देवीको साधना, पूजा तथा आराधना गर्न एक दिन थपिँदैमा धार्मिक दृष्टिले कुनै फरक पर्दैन।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×