बिर्तामोडको किंग्सबरी होटल अब अन्तर्राष्ट्रिय ब्रान्ड र्याडिसनमा

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २, सोमबार ११:२२

काठमाडौं । झापाको बिर्तामोडमा सञ्चालनमा रहेको किङ्सबरी होटललाई अन्तर्राष्ट्रिय होटल ब्रान्ड र्‍याडिसनमा रूपान्तरण गरी सञ्चालन तथा व्यवस्थापन गर्ने सम्झौता भएको छ । यसका लागि होटलमा थप १०० करोड रुपैयाँ लगानी गर्ने योजना अघि बढाइएको छ ।

सम्झौतामा र्‍याडिसन होटल समूहका ग्लोबल प्रमुख कार्यकारी अधिकृत फेडेरिको गोन्जालेज, दक्षिण एसियाका प्रबन्ध निर्देशक तथा प्रमुख सञ्चालन अधिकृत निखिल शर्मा र किङ्सबरी होटलका अध्यक्ष रवि शर्मा धितालले हस्ताक्षर गरेका छन् । हाल १५५ कोठासहित सञ्चालनमा रहेको होटललाई दुई चरणमा र्‍याडिसन ब्रान्डअन्तर्गत रूपान्तरण गरिनेछ । पहिलो चरण सन् २०२७ को अन्त्यसम्म र दोस्रो चरण सन् २०२८ को मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

होटलका अध्यक्ष धितालले सन् २०२४ मा होटल अधिग्रहण गरेपछि यसलाई थप विस्तारित र अन्तर्राष्ट्रियस्तरको सेवा–सुविधासहित विकास गर्ने योजना बनाइएको बताए । उनका अनुसार आधुनिक पूर्वाधार, स्तरीय आवास सुविधा र विभिन्न सेवा क्षेत्र विस्तार गरी होटललाई अन्तर्राष्ट्रिय आतिथ्य मापदण्डअनुरूप विकास गरिनेछ ।

र्‍याडिसनसँगको सहकार्यले होटललाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुका साथै पूर्वी नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने धितालको विश्वास छ । होटल परिसरमा क्यासिनोसमेत सञ्चालनमा छ । होटलको रूपान्तरणपछि ६५० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य राखिएको छ । यसबाट झापा र आसपासका क्षेत्रका युवाले रोजगारी पाउनुका साथै स्थानीय व्यवसाय, पर्यटन र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

पूर्वी नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै गएको बिर्तामोडमा अन्तर्राष्ट्रिय होटल ब्रान्डको प्रवेशले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न र व्यावसायिक भ्रमणलाई प्रोत्साहन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो परियोजना नेपालमा र्‍याडिसनको व्यवस्थापनअन्तर्गत सञ्चालन हुने पहिलो होटलका रूपमा प्रस्तुत गरिएको छ । अन्तर्राष्ट्रिय व्यवस्थापन प्रणाली र सेवा मापदण्डलाई स्थानीय बजारसँग जोड्ने लक्ष्य राखिएको परियोजनाले पूर्वी नेपालको पर्यटन पूर्वाधार र होटल उद्योगको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×