दसैँ मनाउन उपत्यका छाड्नेको संख्या साढे ५ लाख नाघ्यो

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ३, मंगलबार ११:००

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट घर फर्किनेको संख्या ५ लाख ७६ हजार नाघेको छ । घटस्थापनादेखि आज (मंगलबार) सम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत ५ लाख ७६ हजार ५७८ जना बाहिरिएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घर फर्किनेमा दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष छन् ।

दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका लागि उपत्यकामा बस्दै आएका नागरिक गाउँघर फर्किन थालेपछि प्रमुख नाकामा यात्रु र सवारीसाधनको चाप बढेको छ । लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्दै गएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए ।

उनका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायत नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ । यात्रुको आवागमन सहज बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले निगरानी बढाएको छ ।

उनले चाडपर्वका बेला लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य र सवारी चलाउने समयजस्ता विषयमा ध्यान दिन आग्रह गरे । यात्रु र चालक दुवैले सावधानी अपनाउँदा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×