परदेशमा दसैँ सम्झिएर…

Share this
693shares
मुलुकी खबर
सुनील अधिकारी
clock२०८३ कात्तिक ३, मंगलबार ११:१२

दसैँ आउन थालेपछि मन त्यसैत्यसै नेपालतिर तानिन्छ । बजारमा दसैँका सामान सजिन थालेका हुन्छन्, साथीभाइका फोन आउन थाल्छन्, नेपालबाट परिवारका तस्बिर र भिडियो आउँछन् । यतिबेला मनमा एउटै कुरा खेलिरहन्छ- यसपालि पनि घर जान पाइएन ।

विदेश आएको झन्डै २५ वर्ष भइसक्यो । जिन्दगीको ठूलो हिस्सा परदेशमै बितेछ । सुरुका वर्षमा त दसैँ आउनु भनेको घर फर्किने दिन गन्नुजस्तै हुन्थ्यो । बिदा मिलाउने, टिकटको व्यवस्था गर्ने, खर्चको हिसाब निकाल्ने र घरमा फोन गरेर आउने मिति सुनाउने । टिकट काटेपछि मनमा छुट्टै खुसी छाउँथ्यो । काममा जति नै थकाइ लागे पनि अब दसैँमा घर जान पाइन्छ भन्ने सम्झनाले आधा थकाइ त्यसै हराउँथ्यो ।

यसअघिका वर्षमा कहिलेकाहीँ दसैँमा नेपाल जान पाइयो । सबै वर्ष सम्भव थिएन, तर जाने मौका जुरेका वर्ष दसैँ साँच्चिकै दसैँजस्तो लाग्थ्यो । घर पुग्नेबित्तिकै आमाको अनुहार हेर्न पाइन्थ्यो, बुबासँग बसेर कुरा गर्न पाइन्थ्यो । आफन्त र पुराना साथीभाइ भेटिन्थे । कसैले विदेशको हालखबर सोध्थे, कसैले कहिले आएको भनेर सोध्थे, कसैले यसपालि त लामै समय बस्नुपर्छ भन्थे । सबैका कुरा सुन्दा लाग्थ्यो, परदेशमा बिताएका वर्षहरू एकैछिनमा ओझेल परे ।

घर पुगेपछि दसैँको तयारीमा आफ्नै किसिमको रमाइलो हुन्थ्यो । बजारबाट सामान ल्याउने, घर सफा गर्ने, मासु र अरू खानेकुराको जोहो गर्ने, आफन्तकहाँ जाने योजना बनाउने । टीकाको दिन बिहानैदेखि घरमा चहलपहल हुन्थ्यो । आमाबुबाको हातबाट टीका लगाउँदा र उहाँहरूको आशीर्वाद लिँदा मन हलुका हुन्थ्यो । विदेशमा कमाएको पैसा, कामको तनाव र वर्षभरिका दुःख सबै बिर्सिएजस्तो लाग्थ्यो । त्यो बेला बुझिन्थ्यो- दसैँ भनेको नयाँ लुगा लगाउनु र मीठोमसिनो खानु मात्रै रहेनछ, आफ्ना मान्छेको बीचमा बस्न पाउनु पनि रहेछ ।

तर यसपालि भने परिस्थिति मिलेन ।

घर जान मन नभएको होइन । मन त धेरै अघिदेखि नेपालमै पुगिसकेको थियो। समस्या मनको थिएन, बाध्यताको थियो । कामबाट बिदा मिलाउन सजिलो भएन । जिम्मेवारीहरू पनि आफ्नै ठाउँमा थिए। एकातिर काम छाडेर जाँदा पर्ने असर, अर्कातिर टिकट र यात्राको खर्च । यतिका वर्ष विदेश बसेपछि बाहिरबाट हेर्दा सबै कुरा सहज देखिए पनि जिन्दगी त्यति सजिलो कहाँ हुन्छ र ? कमाइ हुन्छ, तर त्यससँगै खर्च र जिम्मेवारी पनि बढेका हुन्छन् । घरमा पैसा पठाउनुपर्छ, आफ्ना आवश्यकता हेर्नुपर्छ, भविष्यका लागि केही बचाउनुपर्छ । यिनै हिसाबकिताब मिलाउँदा कहिलेकाहीँ आफ्नै खुसी पछाडि धकेलिँदो रहेछ ।

यसपालि पनि त्यही भयो। दसैँ आयो, तर घर जाने दिन आएन ।

नेपालबाट फोन आउँछ । आमाले सोध्नुहुन्छ, ‘यसपालि पनि आउन मिलेन बाबु ?’ प्रश्न सामान्य हुन्छ, तर त्यसको जवाफ दिन गाह्रो पर्छ । ‘काममा बिदा मिलेन, आमा । अर्को पटक आउँछु नि,’ भन्छु । उहाँले पनि ‘ल, काम गर, आफ्नो ख्याल गर’ भन्नुहुन्छ । फोन राखेपछि भने मनमा कुरा खेलिरहन्छ । आमाले आफ्नो मनको कुरा कति भन्नुहुन्छ र ! छोरो घर आउन नपाउँदा उहाँलाई पनि नरमाइलो लाग्छ होला । तर छोरालाई दुःखी नबनाउन उहाँले आफ्नो दुःख लुकाउनुहुन्छ कि जस्तो लाग्छ ।

बुबासँग कुरा गर्दा पनि त्यस्तै हुन्छ । उहाँले धेरै कुरा सोध्नुहुन्न । काम कस्तो छ, स्वास्थ्य ठीक छ कि छैन, चाडपर्वमा खानपिन राम्ररी गर्नु भन्नुहुन्छ । कहिलेकाहीँ ‘आफ्नो काम गर, यहाँको चिन्ता नगर” पनि भन्नुहुन्छ । तर बुबाआमाको उमेर बढ्दै गएको कुरा मनमा आइरहन्छ । हरेक वर्ष बित्दै जाँदा उहाँहरू पहिलेभन्दा अलि कमजोर देखिनुहुन्छ । फोनमा अनुहार हेर्दा पनि त्यो परिवर्तन थाहा हुन्छ । अनि मनमा प्रश्न उठ्छ- अर्को वर्ष आउँछु भन्दाभन्दै कति वर्ष बितिसक्ने हो ?

परदेशको दसैँ पनि दसैँ नै हो । यहाँ नेपाली साथीभाइ भेटिन्छन् । कसैले घरमै टीका लगाउँछन्, कसैले साथीको घरमा भेला भएर खानपिन गर्छन् । मन्दिरमा कार्यक्रम हुन्छन्, कतै सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिन्छन् । कामबाट बिदा मिल्यो भने साथीहरूसँग भेटघाट गर्न सकिन्छ । विदेशमा पनि नेपालीपन जोगाइराख्ने आफ्नै प्रयास हुन्छ । तर मनले खोजेको दसैँ भने त्योभन्दा अलि फरक हुँदो रहेछ ।

नेपालमा हुँदा दसैँको बेला गाउँघरमा कति रमाइलो हुन्थ्यो ! बाटोघाटोमा आफन्त र चिनजानका मान्छे भेटिन्थे । कतै पिङ हालिएको हुन्थ्यो, कतै घर लिपपोत गरिँदै हुन्थ्यो । घरमा पाहुना आउने जाने क्रम चलिरहन्थ्यो । टीकाको दिन कसकहाँ जाने, को पहिले आउने, कसलाई भेट्न भ्याउने भन्ने आफ्नै चटारो हुन्थ्यो । कहिलेकाहीँ त्यही भीडभाड र दौडधुप झन्झटिलो पनि लाग्थ्यो । अहिले सम्झिँदा भने ती सबै कुरा कति प्रिय रहेछन् भन्ने लाग्छ ।

अहिले दसैँको बेला सामाजिक सञ्जाल खोल्यो कि नेपालका तस्बिर र भिडियो देखिन्छन् । आमाबुबाले टीका लगाइदिएको, दाजुभाइ दिदीबहिनी भेला भएको, परिवारसँग बसेर खाना खाएको, गाउँघरमा पिङ खेलेको । अरूका खुसी देख्दा खुसी नै लाग्छ। तर आफ्नै परिवारको तस्बिर देख्दा मन अलि चसक्क हुन्छ । भिडियोमा सबैजना हाँसिरहेका हुन्छन्, आफू पनि हाँसिदिन्छु । तर भिडियो बन्द गरेपछि फेरि उही कोठा, उही काम र उही एक्लोपन ।

कहिलेकाहीँ दसैँको दिन काममा जानुपर्छ । बाहिरबाट हेर्दा अरू दिनजस्तै सामान्य दिन हुन्छ । बिहान उठ्ने, खाना खाने, काममा जाने र साँझ फर्किने । तर मनले भने दिनभरि घरकै हिसाब गरिरहेको हुन्छ । नेपालमा अहिले के गर्दै होलान् ? आमाले खाना खानुभयो होला कि ? बुबा आफन्तकहाँ जानुभयो होला कि ? घरमा सबैजना भेला भएका होलान् कि ? यस्ता कुरा सोच्दासोच्दै दिन बित्छ ।

विदेशमा बसेको मान्छेको जिन्दगी बाहिरबाट हेर्दा कमाइ र सुविधासँग जोडिएको देखिन्छ । तर यससँगै छुटेका धेरै कुरा पनि हुन्छन् । छोराछोरी हुर्कँदा सँगै हुन नपाउनु, बुबाआमाको उमेर बढ्दै जाँदा छेउमा बस्न नपाउनु, घरमा कुनै दुःख पर्दा तुरुन्तै पुग्न नसक्नु । चाडपर्व आउँदा यी कुराहरू अझ बढी महसुस हुँदारहेछन् । पैसा पठाएर आफ्नो जिम्मेवारी पूरा गरेजस्तो लागे पनि सबै कुरा पैसाले पूरा हुँदैन । कहिलेकाहीँ घरमा बसेर आमाबुबासँग दुई घण्टा कुरा गर्न पाउनु नै ठूलो कुरा रहेछ ।

विदेशमा २५ वर्ष बिताउँदा धेरै कुरा सिकियो । काम गर्न सिकियो, दुःख सहन सिकियो, अप्ठ्यारो परिस्थितिमा पनि आफूलाई सम्हाल्न सिकियो । आफ्ना आवश्यकता घटाएर परिवारका आवश्यकता पूरा गर्न सिकियो । तर घरको सम्झना कम गर्न भने सिकिएन। दसैँजस्ता चाडपर्वले त झन् त्यो सम्झना गाढा बनाइदिन्छन् ।

अब त दसैँ आउनुअघि नै मनमा हिसाब सुरु हुन्छ- कहिले बिदा मिल्ला, कहिले टिकट काट्न सकिएला, अर्को पटक घर जान पाइएला कि नपाइएला ? कहिलेकाहीँ आफैँलाई सम्झाउँछु, सबै कुरा आफूले चाहेजस्तो हुँदैन । जीवन चलाउन काम गर्नैपर्छ, जिम्मेवारी पूरा गर्नैपर्छ । तर मनलाई सम्झाउन जति सजिलो छ, मनले मान्न त्यति नै गाह्रो ।

यसपालि पनि परिवारले टीका लगाएको तस्बिर फोनमा आउला । आमाबुबाको अनुहार हेरेर खुसी हुन खोजुँला । फोनबाटै आशीर्वाद लिउँला र आफ्नो तर्फबाट शुभकामना दिउँला । अरूका लागि यो सामान्य कुरा होला, तर घर जान नपाएको मान्छेलाई यति गर्दा पनि मनको एउटा कुनामा खालीपन रहिरहन्छ ।

दसैँ भनेको आखिर घर फर्किने, आफ्ना मान्छेसँग भेट्ने र आफू जहाँबाट आएको हो, त्यहीँ फेरि केही समयका लागि भए पनि पुग्ने अवसर रहेछ । परदेशमा बसेर यो कुरा झन् गहिरोसँग बुझिँदो रहेछ ।

यसपालि दसैँमा घर जान पाइएन । काम चलिरहला, दिन बितिरहला, जिम्मेवारी पनि पूरा हुँदै जालान् । तर मनमा एउटा इच्छा भने उस्तै छ- कुनै वर्ष दसैँ आउनुअघि नै टिकट काट्न सकूँ, घरमा फोन गरेर यसपालि आउँदै छु भन्न सकूँ । अनि आमाले ‘साँच्चै आउँदै छस् ?’ भनेर खुसी हुँदै सोधेको सुन्न सकूँ ।

त्यो दिन कहिले आउँछ, थाहा छैन । तर परदेशमा बसेको मान्छेले दसैँमा घर सम्झिन छाड्दैन । वर्ष फेरिन्छ, परिस्थिति फेरिन्छ, काम र जिम्मेवारी फेरिन्छन् । घर जाने चाहना भने उस्तै रहिरहन्छ ।

दसैँ त हरेक वर्ष आउँछ, तर आफूले चाहेको बेला घर पुग्न पाइन्छ नै भन्ने हुँदैन । परदेशको दसैँको सबैभन्दा ठूलो खल्लोपन सायद यही हो ।

-इलाम, (हालः जापान)

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×