
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बडादसैँका अवसरमा आज (मंगलबार) नक्सालस्थित नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ को मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् ।
नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको मौलो पूजाका क्रममा प्रहरी महानिरीक्षक कार्कीले बलि पूजा गर्नुका साथै निशानमा पञ्जाछाप लगाएका थिए ।
पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी हवल्दार रामकुमार कार्कीलाई पगरीसहित नगद पुरस्कार र प्रहरी हवल्दार पोषणराज बुढाथोकीलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
त्यस अवसरमा प्रहरी महानिरीक्षक कार्कीसहित प्रहरी अतिरिक्त महानिरीक्षक तथा वरिष्ठ प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गरेका थिए । पूजा विसर्जनपछि मूलकोत हनुमानढोकाका लागि निशान प्रस्थान गराइएको थियो। सहभागीहरूले पुजारीबाट टीका तथा प्रसाद ग्रहण गरेका थिए ।
नेपाल प्रहरीका अनुसार प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट प्राप्त भएको हो । यसमा दुईवटा निशान छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बीचमा रामधनुषको चिह्न छ भने सहायक निशानमा सूर्य र चन्द्रका चिह्न छन् ।
राष्ट्र र नागरिकको शान्ति सुरक्षा तथा अमनचयन कायम राख्ने जिम्मेवारी पूरा गर्न सफलता मिलोस् भन्ने कामनासहित निशान झण्डालाई शक्तिपीठ र इष्टदेवताको प्रतीक मानेर पूजा गर्ने परम्परा रहेको प्रहरीले जनाएको छ । कार्यसम्पादनमा कुनै अनिष्ट नहोस् र सबै कार्यमा सफलता प्राप्त होस् भन्ने उद्देश्यले निशान झण्डाको पूजा गरिँदै आएको छ ।
नेपाल प्रहरीले विक्रम संवत् २०११ मा निशान झण्डा प्राप्त गरेपछि हरेक वर्ष बडादसैँ र चैतेदसैँमा मौलो पूजा गर्दै आएको छ । देशभरका विभिन्न प्रहरी कार्यालयमा रहेका मौलोमा पनि मंगलबार विधिपूर्वक पूजा गरिएको प्रहरीले जनाएको छ ।



















