मौसमी प्रतिकूलताः मंगलबारभित्र धान भित्र्याउन आग्रह

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ७, शनिबार १६:२७

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता नेपालमा मौसम बदली हुनसक्ने संकेत देखिएको भन्दै किसानलाई मंगलबारभित्र धानबाली भित्र्याउन आग्रह गरेको छ । बंगालको खाडीमा विकसित हुँदै गरेको न्यून चापीय प्रणालीका कारण कात्तिक १० देखि १५ गतेसम्म देशको मौसम प्रभावित हुनसक्ने विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका कुनै पनि स्थानमा उल्लेखनीय वर्षा भएको छैन । हाल मौसम सामान्य रहे पनि आगामी दिनमा मौसमी प्रणालीमा परिवर्तन आउनसक्ने देखिएको हो । मौसमविद् रोजन लामिछानेका अनुसार आगामी कात्तिक ७ गतेसम्म हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि अन्य क्षेत्रमा वर्षाको सम्भावना न्यून रहेको उनले बताए । उनका अनुसार कात्तिक १० देखि १५ गतेसम्म बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्न सक्छ । यद्यपि, उक्त प्रणालीका कारण कति वर्षा हुन्छ र त्यसको प्रभाव कुन क्षेत्रमा कस्तो पर्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने विभागले स्पष्ट पारेको छ ।

मौसममा हुनसक्ने परिवर्तनलाई ध्यानमा राख्दै विभागले किसानलाई अनुकूल मौसमको सदुपयोग गरी मंगलबारभित्रै धान काट्ने तथा बाली भित्र्याउने काम सम्पन्न गर्न सुझाव दिएको छ । सम्भावित वर्षाले कृषि उत्पादनमा क्षति पुर्‍याउन सक्ने भएकाले किसानलाई सतर्क रहन आग्रह गरिएको हो ।

यसैगरी, मौसम परिवर्तनले पर्यटन, बाह्य कार्यक्रम तथा खेलकुद गतिविधिमा समेत असर पार्न सक्ने अनुमान गरिएको छ। सञ्चालनको तयारीमा रहेको नेपाल प्रिमियर लिग (एनपीएल) पनि सम्भावित मौसम बदलीबाट प्रभावित हुनसक्ने देखिएको छ ।

विभागले कात्तिक ८ गतेपछि भ्रमण, बाह्य कार्यक्रम तथा कृषि कार्यको योजना बनाउँदा मौसमको अवस्थालाई ध्यान दिन र नियमित रूपमा अद्यावधिक मौसमी सूचना लिन सर्वसाधारणलाई आग्रह गरेको छ । मौसमसम्बन्धी आधिकारिक जानकारीका लागि विभागको वेबसाइट तथा सामाजिक सञ्जाल हेर्न वा टोल फ्री नम्बर ११५५ मा फोन गर्न पनि विभागले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×