करणको कप्तानी र वार्नरको साथमा तेस्रो एनपीएलका लागि काठमान्डु गोर्खाज तयार

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ८, आइतबार ०९:०९

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमान्डु गोर्खाजले आफ्नो तयारी तीव्र पारेको छ । टोलीले यसपटक पनि अनुभवी करण केसीको कप्तानीमा मैदान उत्रने निर्णय गरेको छ । मोन्टी देसाईले टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् । तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।

काठमान्डु गोर्खाजले यस सिजनका लागि करण केसी, भीम सार्की, मोहम्मद आदिल आलम, रासिद खान, साहब आलम र सन्तोष यादवलाई टोलीमा कायम राखेको छ । खेलाडी अक्सनमा टोलीले १७ लाख रुपैयाँ खर्च गर्दै साहिल पटेल, दयानन्द मण्डल, देव साह, कृष्ण पौडेल, प्रसिद्ध जैसी, सोनु देवकोटा र सूर्यान्शु कोइरालालाई अनुबन्ध गरेको छ ।

टोलीले चारजना विदेशी खेलाडीलाई पनि भित्र्याएको छ । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर यसपटक काठमान्डु गोर्खाजबाट खेल्ने पक्का भएको छ । ३९ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि विभिन्न विश्वकप जित्नुका साथै अन्तर्राष्ट्रिय क्रिकेटमा १८ हजारभन्दा बढी रन बनाएका छन् । कार्यकारी निर्देशक अनुभव स्वार सिरोहियाका अनुसार वार्नरलाई अनुबन्ध गर्न महिनौँसम्म छलफल भएको थियो ।

वार्नरका साथै टोलीमा भारतीय पूर्व खेलाडी कोना श्रीकर भरत, श्रीलंकाली अलराउन्डर सहान अराचिगे र अस्ट्रेलियन अलराउन्डर विल बोसिस्टो पनि सामेल छन्। बोसिस्टो सन् २०१२ को यू-१९ विश्वकपमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।

पहिलो संस्करणमा लिग चरणबाटै बाहिरिएको काठमान्डु गोर्खाजले दोस्रो संस्करणमा सुधारिएको प्रदर्शन गर्दै एलिमिनेटर चरणसम्मको यात्रा तय गरेको थियो। यसपटक टोलीले कात्तिक १२ गते जनकपुर बोल्ट्सविरुद्धको खेलबाट आफ्नो यात्रा सुरु गर्नेछ। लिग चरणमा टोलीले कुल सात खेल खेल्ने तालिका रहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×