
जनकपुरधाम। जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा परम्परागत धार्मिक तथा सांस्कृतिक विधिअनुसार कोजाग्रत पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइएको छ। यस अवसरमा ऐतिहासिक जानकी मन्दिरमा भगवान् राम र माता सीताको चुमाओन अनुष्ठानका लागि महोत्तरीको रतौलीबाट १०८ वटा पाहुर (सनेस तथा कोसेली) ल्याइएको छ।
विगत १४२ वर्षदेखि निरन्तर चल्दै आएको यस परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको हो। महोत्तरीको पिपरा गाउँपालिकास्थित रतौली निवासी स्वर्गीय महेन्द्रप्रसाद ठाकुरको परिवारले पुस्तौँदेखि कोजाग्रत पूर्णिमाका अवसरमा जानकी मन्दिरमा पाहुर पठाउँदै आएको छ।
ऐतिहासिक परम्पराअनुसार मन्दिरमा ल्याइएको पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल, मौसमी तरकारीलगायत सामग्री समावेश थिए। साथै, भगवान् श्रीराम र माता जानकीका लागि विशेष वस्त्रसमेत ल्याइएको थियो। उक्त पाहुर समर्पण गरेपछि जानकी मन्दिरमा शास्त्रीय विधिअनुसार सीतारामको चुमाओन अनुष्ठान सम्पन्न गरिएको हो।
ठाकुर परिवारका सदस्य नवीन ठाकुरले पुर्खादेखि चल्दै आएको यस विशिष्ट पारिवारिक तथा सांस्कृतिक परम्परालाई आगामी पुस्तासम्म निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार १४२ वर्षअघि सुरु भएको यस परम्परालाई परिवारका नयाँ पुस्ताले समेत गौरवका साथ अघि बढाइरहेका छन्।
कोजाग्रत पूर्णिमाको अवसरमा जानकी मन्दिर परिसरमा विशेष भजनकीर्तनसँगै मिथिलाको मौलिक हास्यपरिहास तथा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको छ। जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवका अनुसार प्रत्येक वर्ष यस पर्वका अवसरमा उत्सवको रौनक बढाउन परम्परागत हास्यव्यङ्ग्य र सांस्कृतिक गायनको व्यवस्था गरिँदै आएको छ। यसले मन्दिर परिसरमा मात्र नभई समग्र मिथिलाञ्चलमा उत्साह र उमङ्ग थप्ने गरेको उनले बताए।
धार्मिक महत्त्वका साथै कोजाग्रत पूर्णिमा मिथिलाञ्चलका नवविवाहित दम्पतीका लागि विशेष सामाजिक तथा पारिवारिक उत्सवका रूपमा पनि परिचित छ। यस अवसरमा बेहुलाको ससुराली पक्षबाट उनको घरमा विशेष पाहुर पठाउने परम्परा रहेको छ।
ससुरालीबाट प्राप्त पाहुरका सामग्री प्रयोग गरी घरका ज्येष्ठ महिलाले मन्त्रोच्चारणसहित बेहुलाको चुमाओन गर्ने र दूबो तथा अक्षतासहितको ‘दुरवाक्षत’ प्रदान गरी आशीर्वाद दिने चलन छ। अनुष्ठानपछि परिवार तथा आफन्तजनलाई भोज खुवाउने र गाउँभरि पान तथा मखान वितरण गर्दै खुसी साटासाट गर्ने परम्परा पनि मिथिलाञ्चलमा प्रचलित छ।
धार्मिक आस्था, पारिवारिक सम्बन्ध र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक विरासतसँग जोडिएको कोजाग्रत पूर्णिमाले मिथिलाको मौलिक पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

























