
तेह्रथुम । कुनै समय तेह्रथुमका गाउँमा असारदेखि भदौसम्म कोदो रोप्ने चटारो हुन्थ्यो। खेतला र पर्मबाट खेतीपातीको काम सघाउने चलन थियो। अहिले न खेतला सहजै पाइन्छन्, न त पर्मको पुरानो चलन नै उस्तै छ । गाउँमा युवा जनशक्ति घट्दै जाँदा कोदो खेती पनि खुम्चिँदै गएको छ ।
छथर गाउँपालिका–२, फयाकका किसान टंकबहादुर कार्की पहिले गाउँलेहरू पालैपालो एकअर्काको खेतमा पुगेर कोदो रोप्ने काम सघाउने गरेको सम्झन्छन् । अहिले भने खेती गर्ने मानिसकै अभाव हुन थालेको उनको अनुभव छ ।
किसान अग्रबहादुर कार्कीका अनुसार कोदो खेतीमा धेरै श्रम लाग्छ। अर्कोतिर अलैँची, अदुवा, अम्लिसो र तरकारीजस्ता नगदेबालीबाट आम्दानी लिन सकिने भएपछि किसानको रोजाइ फेरिएको छ । घरखर्च, शिक्षा र स्वास्थ्य उपचारका लागि नगद चाहिने भएकाले पनि किसान बजारमा बिक्री हुने बालीतर्फ आकर्षित भएका छन् ।
तर कोदोको सम्भावना सकिएको छैन । धनकुटाको नुनथला भिलेज एन्ड रिसोर्टका सञ्चालक लोकेन्द्र कार्कीका अनुसार त्यहाँ आउने पर्यटकले कोदोको ढिँडो र मस्मस् रुचाउँछन् । कोदोका बिस्कुटसमेत कोशेलीका रूपमा लैजाने गरेका छन् ।
खेती गर्ने जनशक्ति घट्दै जाँदा कोदोको उत्पादन र परम्परागत खेती प्रणाली दुवै प्रभावित भएका छन् । कोदोबाट बन्ने परिकारको बजार विस्तार गर्न सके किसानलाई यसको खेतीमा टिकाइराख्न र परम्परागत अन्नलाई नयाँ अवसरसँग जोड्न सकिने सम्भावना छ ।

























