
विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटनामा परी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य अंकित पोखरेलको मृत्यु भएको छ । जन्मदिन मनाएर घर फर्कने क्रममा बुधबार मध्यरात मोटरसाइकल दुर्घटनामा परी विराटनगर महानगरपालिका–१ का २४ वर्षीय पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१० स्थित निर्मल जल उद्योगनजिक भित्री सडकमा निर्मल जलबाट जतुवातर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ३३७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा टाउको र नाकमा चोट लागेका पोखरेललाई उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो । उपचारकै क्रममा अस्पतालका चिकित्सकले राति १ः१० बजेतिर उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
पोखरेल महेन्द्र मोरङ क्याम्पसका स्ववियु सदस्य हुनुका साथै यसअघि जीपी कोइराला फाउन्डेसन मोरङको युवा कार्यदलको अध्यक्षसमेत रहिसकेका थिए ।



















