
एजेन्सी । भारतको पूर्वी तटीय क्षेत्रमा आएको शक्तिशाली चक्रवात अर्नबले ठूलो जनधनको क्षति पुर्याएको छ । चक्रवातका कारण आन्ध्र प्रदेशमा सात जनाको मृत्यु भएको छ भने सम्भावित जोखिमबाट जोगाउन आन्ध्र प्रदेश र ओडिसामा गरी एक लाख ८० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
रुख ढल्ने, विद्युत् प्रवाहका कारण करेन्ट लाग्ने, पर्खाल भत्किने तथा अन्य दुर्घटनामा परी मानिसहरूले ज्यान गुमाएको अधिकारीहरूले बताएका छन् । चक्रवातको प्रभावले आन्ध्र प्रदेशका १० भन्दा बढी जिल्लाका सयौं गाउँ प्रभावित भएका छन् । एलुरु, पश्चिम गोदावरी र विजयनगरमलगायत जिल्लामा यसको असर बढी देखिएको छ ।
बिहीबार बिहान २ बजेदेखि ८ बजेसम्मको अवधिमा चक्रवात तटीय क्षेत्रमा प्रवेश गरेको थियो । त्यसपछि आन्ध्र प्रदेश र केन्द्रशासित प्रदेश पुदुचेरीको यानम आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । तल्लो भू–भागमा २०० मिलिमिटरसम्म वर्षा मापन गरिएको छ । जसले बाढी र डुबानको जोखिम बढाएको छ ।
यानम नजिकै जमिनमा प्रवेश गरेपछि चक्रवातको तीव्रता घट्न थालेको छ । अत्यन्त शक्तिशाली चक्रवाती आँधीबाट कमजोर बनेको प्रणालीको तीव्रता थप घटेर सामान्य चक्रवाती आँधी हुँदै गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुने अनुमान गरिएको छ ।
चक्रवातबाट भएको क्षतिको विवरण संकलन र मूल्यांकनका लागि केन्द्रीय टोली पठाउन आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले केन्द्रीय गृहमन्त्री अमित शाहलाई पत्र लेखेका छन् । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यसँगै क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।
प्रतिकूल मौसमका कारण आन्ध्र प्रदेशका तीन विमानस्थलमा हवाई सेवा स्थगित गरिएको नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । ओडिसाको भुवनेश्वर विमानस्थलमा भने अधिकांश उडान सामान्य रूपमा सञ्चालन भए पनि भुवनेश्वर–जेपोर–विशाखापट्टनम मार्गको नौ सिट क्षमताको एउटा उडान रद्द गरिएको विमानस्थलका निर्देशक प्रसन्न प्रधानले बताएका छन् ।
ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीले समयमै गरिएको पूर्वतयारी र उद्धारका कारण राज्यमा मानवीय क्षति हुन नदिने लक्ष्य हासिल भएको बताएका छन् । यद्यपि, चक्रवातका कारण यातायात र दैनिक गतिविधिमा परेको असरले शैक्षिक गतिविधिसमेत प्रभावित भएको छ । सांसद सप्तगिरि शंकर उलाकाले जेपोर परीक्षा केन्द्रमा सञ्चालन हुने राज्य लोकसेवा आयोगको मुख्य परीक्षा पुनःनिर्धारण गर्न आग्रह गरेका छन् ।
चक्रवातको प्रभाव भारतका अन्य क्षेत्रमा समेत देखिएको छ । भारतीय मौसम विभागले पश्चिम बंगालका केही स्थानमा शनिबारसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै छत्तीसगढका सुकमा, नारायणपुर, बिजापुर, दन्तेवाडा र राजनन्दगाउँलगायत जिल्लामा विद्यालय बन्द गरिएको छ ।
चक्रवात कमजोर हुँदै गए पनि प्रभावित क्षेत्रमा वर्षा, डुबान र भौतिक क्षतिको जोखिम कायम रहेकाले स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।



















