
काठमाडौं । नेपाल सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ । सरकारको निर्देशन पटक पटक उल्लंघन गरेको र स्वीकृत विधान तथा संगठनको उद्देश्यविपरीत गतिविधि गरेको ठहर गर्दै गृह मन्त्रालयले निलम्बनको निर्णय गरेको हो ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एनप्याब्सनलाई निलम्बन गरिएको जनाएको छ।
मन्त्रालयका अनुसार राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सरकारको स्वीकृति लिएर स्थापना भई सञ्चालनमा रहेको उक्त संगठनले ऐनको दफा ५ अनुसार मन्त्रालयले दिएको निर्देशन पटक पटक पालना गरेको छैन । साथै, संगठनका पदाधिकारीले सरकारबाट स्वीकृत विधान र संगठनको मूल उद्देश्यविपरीत गतिविधि गरेको मन्त्रालयको ठहर छ।
यस विषयमा मन्त्रालयले २०८३ असोज २३ गते सम्बन्धित सरोकारवालालाई छलफलका लागि बोलाएको थियो। उक्त छलफलमा राष्ट्रिय निर्देशन ऐन र मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनअनुसार काम गर्न आग्रह गरिएको थियो।
तर, मन्त्रालयले दिएको निर्देशनअनुसार संगठनले काम गरेको नदेखिएपछि निलम्बनको निर्णय गरिएको सूचनामा उल्लेख छ।
मन्त्रालयले निलम्बन अवधिभर एनप्याब्सनको नाममा कुनै पनि समूह वा गुटले गतिविधि गर्न नपाउने स्पष्ट पारेको छ। संगठनको नाम प्रयोग गरी गरिने त्यस्ता गतिविधि गैरकानुनी हुने भन्दै मन्त्रालयले संलग्नमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।


























