२५ औँ सत्याग्रहको तेस्रो दिनमै डा. केसीको स्वास्थ्य कमजोर, उपचार टोली तयारी अवस्थामा

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १४, शनिबार १६:५१

इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ। पानीको भरमा सत्याग्रह गरिरहेका उनले रगतमा चिनीको मात्रा घटेको र बोल्नसमेत गाह्रो हुन थालेको बताएका छन्।

२५ औँ  सत्याग्रहको तेस्रो दिनमा आइपुग्दा डा. केसीले शारीरिक कमजोरी महसुस गर्न थालेका हुन् ।  ‘सुगर घटेको रहेछ,’ उनले भने, ‘अब बोल्न पनि गाह्रो हुन थाल्यो।’

डा. केसीको स्वास्थ्य परीक्षणका लागि शुक्रबार साँझ इलाम अस्पतालको टोली पुगेको थियो । त्यसयता भने स्वास्थ्य परीक्षणका लागि टोली नगएको बताइएको छ। इलाम अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अमिताभ ठाकुरले डा. केसीको टोलीबाट पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी प्राप्त नभएको बताए।

उनका अनुसार अस्पतालले डा. केसीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै चार सदस्यीय स्वास्थ्य टोली तयारी अवस्थामा राखेको छ। आवश्यक परेको अवस्थामा तत्काल उपचार सेवा उपलब्ध गराउने गरी अस्पताल तयारी अवस्थामा रहेको उनले जानकारी दिए।

यसैबीच, डा. केसीको सत्याग्रहप्रति सरकारले पर्याप्त चासो नदेखाएको बताइएको छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा नीतिगत विचलन अन्त्य, सुशासन कायम तथा सार्वजनिक स्वास्थ्य संस्थाको प्रभावकारी सञ्चालनको माग गर्दै उनले इलाम बजार नजिकै नारायणस्थान मन्दिरको धर्मशालामा सत्याग्रह सुरु गरेका हुन्।

डा. केसीले विशेषगरी गेटामा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन र सिट वृद्धिसम्बन्धी विवादित निर्णय खारेज गर्नुपर्ने माग अघि सारेका छन्। स्वार्थ बाझिने गरी गरिएका उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने उनको अर्को प्रमुख माग छ।

उनका अन्य मागमा विवादित निर्णयबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने, गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, छात्रवृत्ति र शिक्षाको गुणस्तर सुनिश्चित गर्नुपर्ने, सरकारसँग भएका विगतका सहमति कार्यान्वयन गर्नुपर्ने तथा सरकारी मेडिकल कलेज विस्तार गर्नुपर्ने विषय समेटिएका छन्।

डा. केसीले चिकित्सा शिक्षा व्यापारिक स्वार्थ पूरा गर्ने माध्यम नभई नागरिकको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको सेवामूलक क्षेत्र भएको बताएका छन्। चिकित्सा शिक्षाको गुणस्तर, निष्पक्ष नियमन र सार्वजनिक स्वास्थ्य संस्थाको प्रभावकारी सञ्चालनमा कुनै सम्झौता स्वीकार्य नहुने उनको अडान छ।

सरकारलाई माग सम्बोधन गर्न दिएको थप समय सीमाभित्र पनि सुनुवाइ नभएपछि सत्याग्रह सुरु गर्नुपरेको उनले बताएका छन्। माग सम्बोधन नगरेर उत्पन्न हुने विषम परिस्थितिको जिम्मेवारी सरकारले नै लिनुपर्ने उनको चेतावनी छ।

डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गए पनि सत्याग्रहप्रति सरकारको औपचारिक प्रतिक्रिया र माग सम्बोधनको प्रक्रिया भने स्पष्ट भइसकेको छैन। सत्याग्रह लम्बिँदै जाँदा उनको स्वास्थ्य अवस्था र सरकारले चाल्ने कदमलाई चासोका साथ हेरिएको छ।

तपाइको प्रतिक्रिया
मोरङमा २५ लाख मूल्यका अवैध सयपत्री फूलका माला बरामद
मधेशका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड
झापाका प्रहरी निरीक्षक भट्टराई असोज महिनाको उत्कृष्ट प्रहरी घोषित
इटहरीमा गुन्जिनेछन्, चर्चित गायक आतिफ अस्लम
२५ औँ सत्याग्रहको तेस्रो दिनमै डा. केसीको स्वास्थ्य कमजोर, उपचार टोली तयारी अवस्थामा
घाम लागेसँगै सुदूरपश्चिम र विराटनगरको खेल हुने सम्भावना बढ्यो
पर्यटन प्रवर्द्धन गर्न कन्टेन्ट क्रिएटरलाई प्रायोजित भ्रमण
बारामा थुनिएका इन्स्पेक्टरसहित ३८ कर्मचारीको उद्धार
लुम्बिनी र चितवन बीचको खेल स्थगित
सिरहामा नेपाली नक्कली नोटसहित दुई जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.