
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिँदै उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको ‘स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’ को बैठकले विभिन्न निर्णयहरू गरेको छ ।
बैठकले उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन ७ वटा उपसमितिहरू गठन गरेको छ । समिति संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा बसेको बैठकले क्यान्डिडेट क्लबका लागि कविन्द्र बुर्लाकोटी, प्रविधिका लागि सुशान्त वैदिक र गुनासो समन्वयका लागि जनकसिंह धामीलाई संयोजक तोकेको छ । त्यस्तै, समावेशिता तथा महिला सहभागितामा डा. तोशिमा कार्की, क्षमता विकास समन्वयमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसारमा मिलन लिम्बूलाई जिम्मेवारी दिइएको छ ।
पार्टीले महानगरपालिका र उपमहानगरपालिकाका वडाध्यक्ष तथा वडा सदस्य पदका लागि उम्मेदवारी आवेदनसमेत खुला गरेको छ । इच्छुक तथा योग्य व्यक्तिहरूले पार्टीको ‘क्यान्डिडेट क्लब’ मार्फत आफ्नो आवेदन पेस गर्न सक्नेछन् । रास्वपाले उम्मेदवार छनोटमा योग्यता, समावेशिता र पारदर्शितालाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ ।

























