
भक्तपुर । कारमा ३३ लाख रुपैयाँ नगद फेला परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई पक्राउ गरेको छ ।
अख्तियारको विशेष टोलीले सोमबार अपराह्न घिमिरेलाई नगरपालिकाको कार्यालयबाटै नियन्त्रणमा लिएको हो । त्यसअघि नगरपालिकाबाट बाहिरिएको बागमती प्रदेश ०१–०३५ च २६८७ नम्बरको टाटा इभी कारलाई निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिक रोकेर जाँच गरिएको थियो ।
उक्त कारमा घिमिरेका भाइ नाता पर्ने भुवन ढुंगेल र उनकी श्रीमती सवार थिए । कार चेकजाँच गर्दा ३३ लाख रुपैयाँ नगद फेला परेपछि अख्तियारले कारमा सवार दम्पतीसहित चालकलाई नियन्त्रणमा लिएको थियो ।
अख्तियारका अनुसार बरामद रकम प्रमुख प्रशासकीय अधिकृत घिमिरेले घुसबापत लिएको र व्यवस्थापनका लागि ढुंगेललाई दिएको आशंका गरिएको छ । रकम बरामद भएपछि घिमिरेलाई पनि कार्यालयबाट नियन्त्रणमा लिएर घटनास्थल पुर्याइएको थियो ।
यद्यपि, घिमिरेले आफूले घुस लिएको आरोप अस्वीकार गरेका छन् । घटनास्थलमा बरामद रकमको मुचुल्का तयार पारिएको छ । घटनाका बारेमा अख्तियारले थप अनुसन्धान अघि बढाएको छ ।

























