
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले निर्माणाधीन खेल पूर्वाधारको स्थलगत निरीक्षणपछि कर्णाली प्रदेश दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन् । उनले प्रतियोगिता सुरु हुन ३० दिन बाँकी रहेको घोषणा गर्दै राष्ट्रिय खेलकुदको महाकुम्भ सफल बनाउन सबै पक्षलाई विश्वस्त रहन आग्रह गरेका छन्।
सुर्खेत पुगेर निर्माणाधीन रंगशालासहित विभिन्न खेल पूर्वाधारको अवलोकन गरेपछि मन्त्री पोखरेलले प्रतियोगिता आयोजनाका लागि भइरहेको तयारीप्रति सन्तुष्टि व्यक्त गरेका हुन्।
अवलोकनका क्रममा उनले आयोजक, स्थानीय पदाधिकारी तथा सरोकारवालासँग पूर्वाधार निर्माणको पछिल्लो अवस्था र सम्पन्न हुन बाँकी कामबारे छलफल गरेका थिए।
‘निरन्तरको प्रयास र संवादले पूर्वाधार निर्माणको गतिलाई अझ तीव्र बनाएको छ,’ उनले भने, ‘हाम्रा रंगशाला र संरचनाहरू तयार हुँदै छन्। देशैभरका प्रदेश, जिल्ला र स्थानीय तहमा उत्तिकै उत्साह र तत्परता देखिएको छ।’
लामो समयदेखि विभिन्न कारणले रोकिएको राष्ट्रिय खेलकुद प्रतियोगिताले अब कर्णालीको भूगोलबाट नयाँ उचाइ लिने विश्वास व्यक्त गर्दै उनले खेल क्षेत्र र खेलाडीमा उत्साह बढेको बताए।
दसौँ राष्ट्रिय खेलकुदको तयारीका लागि सुर्खेत पुगेका मन्त्री पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकासमन्त्री जीतबहादुर मल्लसँग पनि छलफल गरेका थिए।

























