
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा एकै दिन १० हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । मंगलबार १० हजार ६१६ जनाले मन्दिरमा पुगेर पूजाआजा गरेसँगै यस वर्षकै सबैभन्दा बढी दर्शनार्थीको नयाँ रेकर्ड कायम भएको छ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार मंगलबार दर्शन गर्ने भक्तजनको संख्या यस वर्षकै उच्च हो । यसअघि गत कात्तिक ७ गते एकै दिन ४ हजार ३०७ जनाले पाथीभराको दर्शन गरेका थिए। मंगलबारको संख्याले उक्त रेकर्डलाई दोब्बरभन्दा बढीले उछिनेको छ।
पछिल्लो समय पाथीभरा मन्दिरमा दर्शनार्थीको आगमन उल्लेख्य रूपमा बढ्दै गएको छ। मौसम अनुकूल हुनु, पारिलो घाम लाग्नु तथा यातायात आवागमन सहज हुनुले पनि भक्तजनको चाप बढाएको क्षेत्र विकास समितिले जनाएको छ।
केही दिनयता पाथीभरा दर्शनका लागि देशका विभिन्न स्थानबाट भक्तजन आउने क्रम बढेको छ। अनुकूल मौसम र सहज यातायातका कारण धार्मिक पर्यटकको आगमन थप बढ्ने अपेक्षा गरिएको छ।

























