
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको १३औँ खेलमा पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रन बनाएको थियो । जवाफमा लुम्बिनीका ओपनर आसिफ शेख र डार्सी सर्ट सस्तैमा आउट भए । आसिफ ७ रन बनाएर रनआउट भए भने डार्सी १३ रनमा विपिन खत्रीको बलमा आकाश चन्दबाट क्याच भए ।
त्यसपछि कप्तान रोहितकुमार पौडेल र निरोशन डिकवेल्लाले तेस्रो विकेटका लागि अविजित ७७ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए । रोहित ४७ र डिकवेल्ला २७ रनमा अविजित रहे । पोखराका लागि विपिन खत्रीले एक विकेट लिए । पोखराले सात जना बलर प्रयोग गरे पनि लुम्बिनीको जित रोक्न सकेन ।
त्यसअघि ब्याटिङ गरेको पोखराले कमजोर प्रदर्शन गरेको थियो । ओपनर तथा कप्तान कुशल भुर्तेलले केही समय क्रिजमा टिक्ने प्रयास गरे पनि ठूलो स्कोर बनाउन सकेनन् । पहिलो पटक प्लेइङ ११ मा स्थान बनाएका युवा खेलाडी अर्जुन कुमाल रुबेन ट्रम्पलमेनको बलमा शून्य रनमै आउट भए । वान डाउनमा आएका सादिरा समरविक्रमाले पनि ७ रन मात्रै बनाए ।
पोखराका लागि तल्लो क्रममा आएका चमिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए । उनले १७ बलमा दुई छक्का प्रहार गरे । मेहेदी हसन र कप्तान कुशल भुर्तेलले समान १४ रन बनाउँदा किरण ठगुन्नाले १२ रन जोडे । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पोखरालाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका रुबेन ट्रम्पलमेनले तीन विकेट लिए । यस सिजनको आफ्नो पहिलो खेल खेलेका उनले प्रभावशाली बलिङ गरे । तिलक वर्माले दुई विकेट लिँदा शेर मल्ल, अभिषेक गौतम र रोहित पौडेलले एक–एक विकेट लिए ।
यो जितसँगै लुम्बिनी पाँच अंकसहित अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएपछि एक अंक बाँडेको थियो । पोखराका लागि भने यो लगातार तेस्रो हार हो । उसले पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेट र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ९ रनले पराजय बेहोरेको थियो ।

























