
झापा । झापाको बिर्तामोडमा बुधबार लागेको भीषण आगोले करोडौँ रुपैयाँको सम्पत्ति खरानी बनाएको छ । आगलागीमा दुई व्यावसायिक प्रतिष्ठान र एउटा दुईतले घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । घटनामा करिब छ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
बिर्तामोड नगरपालिका–४ स्थित व्यस्त भद्रपुर रोडमा बिहान १०ः४० बजे सुरु भएको आगोले केही घण्टामै ठूलो क्षति पुर्याएको हो । सिद्धार्थ होटल अगाडि र पारिजात धौलागिरि सहकारी संस्थाको पछाडि रहेको घरमा सञ्चालित शुभलाभ इलेक्ट्रोनिक्स र निरिका फर्माको गोदाम आगलागीबाट ध्वस्त भएका छन् ।
आगोले शुभलाभ इलेक्ट्रोनिक्समा भण्डारण गरिएका विद्युतीय सामग्री र निरिका फर्मामा रहेका औषधि तथा अन्य सामग्री केही बाँकी नरहने गरी नष्ट गरेको छ । घरधनी राजेश मण्डलको दुईतले घरसमेत आगलागीबाट क्षतिग्रस्त भएर प्रयोग गर्न नसकिने अवस्थामा पुगेको छ ।
प्रहरीका अनुसार शुभलाभ इलेक्ट्रोनिक्समा मात्रै तीन करोड रुपैयाँ बराबरको क्षति भएको छ । निरिका फर्मामा एक करोड र घरमा दुई करोड रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ । शुभलाभ इलेक्ट्रोनिक्सका सञ्चालक सुवास घोष र निरिका फर्माका सञ्चालक राजेश खतिवडा हुन् ।
विद्युतीय उपकरण र प्लास्टिकजन्य सामग्री ठूलो परिमाणमा भण्डारण गरिएको गोदाममा आगो सल्किएपछि नियन्त्रणमा लिन निकै कठिन भएको थियो । आगो फैलिँदै जाँदा आसपासका अन्य घर तथा पसलसमेत जोखिममा परेका थिए । त्यसपछि आगो नियन्त्रणका लागि सातवटा पालिकाका दमकल परिचालन गर्नु परेको थियो ।
बिर्तामोड, भद्रपुर, मेचीनगर, दमक, कमल, शिवसताक्षी र गौरादह नगरपालिकाका दमकलले संयुक्त रूपमा आगो निभाएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका सयभन्दा बढी सुरक्षाकर्मी पनि स्थानीय बासिन्दासँगै नियन्त्रणमा खटिएका थिए ।
आगो नियन्त्रणका क्रममा जेसीबीसमेत प्रयोग गरिएको थियो । दमकलबाट पानी प्रहार गर्नुका साथै आगो फैलिन सक्ने संरचनामा पहुँच बनाउन र आसपासका सामग्री सुरक्षित गर्न सुरक्षाकर्मी तथा स्थानीयले प्रयास गरेका थिए ।
करिब पाँच घण्टाको निरन्तर प्रयासपछि दिउँसो ३ः४० बजे आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा खटिएको टोली अपराह्न ४ः३० बजे मात्रै फर्किएको थियो ।
व्यापारिक गतिविधि बढी हुने बिर्तामोडको मुख्य सडक क्षेत्रमा भएको आगलागीले स्थानीय व्यवसायी र बासिन्दालाई त्रसित बनाएको थियो । ठूलो जनशक्ति र दमकल परिचालन गरेर आगो नियन्त्रणमा लिइए पनि क्षति भने रोक्न सकिएन ।
आगलागी के कारणले सुरु भयो भन्ने खुलेको छैन । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

























