
धनकुटा । धनकुटा प्रहरीले विभिन्न समयमा बरामद गरेको ठूलो परिमाणको गाँजा र प्रतिबन्धित लागुऔषध ट्याब्लेट नष्ट गरेको छ ।
प्रहरीले बुधबार धनकुटा नगरपालिका–९ मूलघाटस्थित तमोर नदी किनारमा १ हजार ५ सय ९६ किलो गाँजा र १ हजार ७ सय १६ थान प्रतिबन्धित ट्याब्लेट नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटा र मातहतका प्रहरी इकाइले छुट्टाछुट्टै समयमा बरामद गरेका लागुऔषध अनुसन्धान प्रक्रिया पूरा भएपछि नष्ट गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार बरामद लागुऔषध नष्ट गर्ने कार्यका लागि प्रहरी निरीक्षक मयंक मिश्राको नेतृत्वमा प्रहरी टोली मूलघाट पुगेको थियो । प्रहरी टोलीले तमोर नदी किनारमा गाँजा र ट्याब्लेट जलाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

























