फाइल तस्बिरकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा शुक्रबार दुई महत्त्वपूर्ण खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्ससँग आफ्नो पुरानो हारको बदला लिने प्रयास गर्दा पोखरा एभेन्जर्स प्रतियोगितामा पहिलो जितको खोजीमा मैदान उत्रिनेछ ।
शुक्रबारको पहिलो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । चार अंकसहित तालिकामा रहेका कर्णाली र सुदूरपश्चिमबीचको प्रतिस्पर्धा अंक जोड्ने मात्र नभई आपसी वर्चस्व कायम गर्ने अवसर पनि हो । अघिल्ला दुई संस्करणमा भएका दुवै भेटमा सुदूरपश्चिमले कर्णालीलाई हराएको थियो । त्यसैले यसपटक कर्णालीसँग इतिहास बदल्ने अवसर छ ।
कर्णालीले यस संस्करणमा तीन खेलबाट दुई जित निकालिसकेको छ । जनकपुर बोल्ट्सलाई १९ रन र विराटनगर किङ्ग्सलाई ४ विकेटले हराएको कर्णाली तेस्रो खेलमा काठमाडौं गोर्खाजसँग ४ विकेटले पराजित भएको थियो । उक्त खेलमा पहिले ब्याटिङ गर्दै १८० रन बनाएको कर्णालीले बलिङमा लक्ष्य जोगाउन नसक्दा पहिलो हार बेहोर्नुपरेको थियो ।
चार अंक जोडेको कर्णालीको नेट रनरेट प्लस ०.२९५ छ । एक खेल कम खेलेको कर्णालीलाई शुक्रबारको जितले तालिकामा थप बलियो बनाउनेछ । कप्तान सोमपाल कामी, साहिबजादा फरहान र गुलशन झासहितका खेलाडीबाट टोलीले राम्रो प्रदर्शनको अपेक्षा गरेको छ । दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेभिड मिलरको आगमनले पनि कर्णालीको ब्याटिङ थप मजबुत हुने अपेक्षा गरिएको छ । उनले शुक्रबारको खेलबाटै एनपीएलमा डेब्यु गर्नेछन् ।
सुदूरपश्चिम भने चार खेल खेलिसकेको छ । पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको टोलीले त्यसपछि पोखरालाई ६ विकेटले हराएको थियो । विराटनगरसँग पाँच ओभरको खेलमा ३५ रनले हारेको सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हराउँदै दोस्रो जित निकालेको थियो ।
चार खेलबाट चार अंक भए पनि सुदूरपश्चिमको नेट रनरेट माइनस १.०६४ छ । त्यसैले कर्णालीविरुद्धको खेल टोलीका लागि जितको संख्या बढाउनेसँगै नेट रनरेट सुधार गर्ने अवसर पनि हुनेछ । कप्तान दीपेन्द्रसिंह ऐरी, सैफ जैब, ब्रान्डन म्याकमुलन, स्कट कुगेलाइन र शेरफेन रदरफोर्ड सुदूरपश्चिमका मुख्य खेलाडी हुन् ।
अघिल्ला दुई संस्करणको भेटमा सुदूरपश्चिमले कर्णालीमाथि पूर्ण वर्चस्व कायम गरेको थियो । पहिलो संस्करणमा कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमै चार विकेट गुमाएर पूरा गरेको थियो । दोस्रो संस्करणमा सुदूरपश्चिमले १३९ रन बनाउँदा जवाफमा कर्णाली ९४ रनमै समेटिएको थियो । उक्त खेल सुदूरपश्चिमले ४५ रनले जितेको थियो । यसपटक कर्णालीलाई विगतको हारको हिसाब बराबर गर्ने चुनौती छ ।
शुक्रबारको दोस्रो खेलमा साँझ साढे ४ बजे चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्नेछन् । एक जितसहित तीन अंक जोडेको चितवन र लगातार तीन हार बेहोरेर अंकविहीन रहेको पोखराबीचको खेल दुवै टोलीका लागि उत्तिकै महत्त्वपूर्ण छ ।
चितवनले प्रतियोगिताको सुरुवात विराटनगर किङ्ग्सलाई ८ रनले हराउँदै गरेको थियो । लुम्बिनी लायन्ससँगको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए । तर, तेस्रो खेलमा सुदूरपश्चिमसँग ५ विकेटले पराजित भएपछि चितवनले अर्को जितको प्रतीक्षा गरिरहेको छ । तीन खेलबाट तीन अंक जोडेको चितवनको नेट रनरेट माइनस ०.४८६ छ ।
कप्तान कुशल मल्लको नेतृत्वमा रहेको चितवनलाई शुक्रबार जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति सुधार्ने अवसर हुनेछ । रञ्जित कुमार, सिकन्दर राजा र अन्य विदेशी खेलाडीको प्रदर्शन टोलीका लागि निर्णायक बन्न सक्छ ।
पोखराको अवस्था भने तुलनात्मक रूपमा कठिन छ । तीन खेल खेल्दा पनि जित निकाल्न नसकेको टोली अंकविहीन हुँदै तालिकाको पुछारमा छ । पहिलो खेलमा सुदूरपश्चिमसँग ६ विकेटले पराजित पोखरा दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ९ रनले हारेको थियो । तेस्रो खेलमा लुम्बिनी लायन्सले पोखरालाई ८ विकेटले हराएको थियो ।
लगातारको हारले दबाबमा परेको पोखरालाई प्रतियोगितामा फर्कन अब जितको विकल्प छैन । टोलीको नेट रनरेट माइनस १.७७० छ । कप्तान कुशल भुर्तेल, चमिका करुणारत्ने र रवी बोपारासहितका खेलाडीबाट पोखराले सुधारिएको प्रदर्शनको अपेक्षा गरेको छ । विशेषगरी ब्याटिङमा राम्रो सुरुवात गर्न नसक्नु टोलीको मुख्य कमजोरी बनेको छ ।
चितवन र पोखराबीचको विगतको प्रतिस्पर्धा भने बराबरीको छ । एनपीएलका अघिल्ला दुई संस्करणमा भएका दुई खेलमध्ये दुवैले एक–एक जित निकालेका छन् । पहिलो संस्करणमा चितवनले पोखरालाई ८७ रनले हराएको थियो । दोस्रो संस्करणमा पोखराले आठ विकेटको जित निकाल्दै बदला लिएको थियो ।
शुक्रबारको खेल जित्ने टोलीले आपसी प्रतिस्पर्धामा अग्रता लिनेछ । चितवनका लागि जितको लयमा फर्कने र पोखराका लागि प्रतियोगितामा पहिलो सफलता हात पार्ने अवसर हुनेछ ।



















