पत्नीको शव टुक्रा पारेको नरेश भट्टको अदालतमा बयान

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २०, शुक्रबार १०:३४

एजेन्सी । अमेरिकाको भर्जिनियामा पत्नी ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका नेपाली मूलका नरेश भट्टले पत्नीको शव टुक्रा पारेको अदालतमा बयान दिएका छन् । बिहीबार अदालतमा बयान दिँदै भट्टले सन् २०२४ जुलाई ३० को बिहान शयनकक्षको भुइँमा पत्नी ममता ढलेको अवस्थामा फेला पारेपछि शव टुक्रा पारेको बताएका हुन् ।

उनका अनुसार ममताको अनुहार र भुइँमा बान्ता देखिएको थियो । बान्तामा रगत, खानाका टुक्रा, औषधिका क्याप्सुल तथा कीटनाशकका रूपमा प्रयोग हुने शक्तिशाली कृषि रसायन ‘सेल्फोस’को संकेत रहेको उनले अदालतमा बताए ।

भट्टले पत्नीलाई छोएर बोलाउने प्रयास गरेको, सीपीआर (कार्डियोपल्मोनरी रिससिटेसन) गरेको र अन्य जीवन बचाउने उपाय अपनाएको दाबी गरेका छन् । त्यसपछि शव टुक्रा पार्न थालेको र सुरुमा खुट्टा अलग गर्ने प्रयास गरेको उनले बयान दिएका छन् ।

उनका अनुसार शवलाई बाथरुममा सारेपछि शारीरिक शक्ति नपुगेका कारण पहिलो दिन नै टुक्रा पार्ने काम रोकेका थिए । त्यसपछि शयनकक्षको ढोका बच्चाका सामान राख्ने स्टेसनले छेकेर छोरीलाई लिन, खाना खुवाउन र सुताउन गएको उनले बताए । त्यस रात आफू सुत्न नसकेको र परिवारले पूजा गर्ने कोठामा समेत डरका कारण नगएको उनको भनाइ छ ।

भट्टमाथि हत्या, शव लुकाएको र शव अपवित्र बनाएको अभियोग लागेको छ । ममताको शव अहिलेसम्म फेला परेको छैन । सन् २०२४ अगस्टमा पक्राउ परेदेखि भट्ट हिरासतमै छन् ।

ममता यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन् । उनी काममा उपस्थित नभएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सुरुमा भट्टले आफूले पत्नीलाई अन्तिमपटक जुलाई २९ मा देखेको र उनी हराएको भन्ने आफूलाई विश्वास नभएको बताएका थिए ।

परिवार तथा साथीहरूले भने ममताले छोरीलाई छाडेर जाने सम्भावना नरहेको बताएका थिए । भट्टले अगस्ट ५ मा पत्नी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । उनले पत्नीले घर छाड्ने धम्की दिएको र सम्बन्धविच्छेदको कुरा गरेको अनुसन्धानकर्तालाई बताएका थिए ।

अगस्ट २२ मा प्रहरीले भट्टलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा दम्पतीको मुख्य शयनकक्ष र बाथरुममा रगतका दाग फेला परेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.