
काठमाडौं । चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो त्रैमासिकमा गुणस्तरहीन तथा मापदण्डविपरीत खाद्य पदार्थ उत्पादन र बिक्री गरेको अभियोगमा ६४ खाद्य व्यवसायीविरुद्ध मुद्दा दायर भएको छ। कारबाहीको दायरामा चाउचाउ उत्पादक कम्पनी सीजी फुड्ससहित विभिन्न उद्योग तथा खाद्य व्यवसायी परेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता विकास मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार गत साउनदेखि असोजसम्मको अवधिमा खाद्य पदार्थको गुणस्तर परीक्षणका क्रममा कैफियत भेटिएपछि सम्बन्धित उत्पादक तथा व्यवसायीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो।
विभाग तथा मातहतका कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम बजार, उद्योग, होटेल तथा रेस्टुरेन्टलगायत खाद्य व्यवसायको अनुगमन र निरीक्षण गरेका थिए। सो क्रममा खाद्य निरीक्षण अधिकारीले संकलन गरेका नमुना प्रयोगशालामा परीक्षण गर्दा निर्धारित मापदण्डविपरीत रहेको पाइएपछि सम्बन्धित व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।
मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षणका लागि गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरणमा संलग्न व्यवसायीविरुद्ध सम्बन्धित जिल्ला अदालत र प्रमुख जिल्ला अधिकारीसमक्ष मुद्दा दायर गरिएको विभागले जनाएको छ।

























