
काठमाडौं । बलरको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित हात पारेको छ । जितसँगै चितवन चार अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा सबै विकेट गुमाएर १२१ रनमै समेटियो । चार खेलमा चितवनको यो दोस्रो जित हो । पोखराले भने लगातार चौथो हार बेहोरेको छ । अंकविहीन पोखरा तालिकाको पुछारमा छ ।
पोखराका लागि अर्जुन कुमालले ४४ बलमा ३ चौका र एक छक्कासहित सर्वाधिक ४५ रन बनाए । युवराज सम्राले १९ तथा किरण ठगुन्ना र अर्जुन घर्तीले समान १३ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कप्तान परिवर्तन गरेको पोखराले यस खेलमा पनि नयाँ ओपनिङ जोडी मैदान उतारेको थियो । कुशल भुर्तेलसँगै क्यानडाका खेलाडी युवराज सम्राले ओपनिङ गरेका थिए । तर भुर्तेल पहिलो ओभरको तेस्रो बलमै ४ रन बनाएर आउट भए ।
त्यसपछि सम्रा र अर्जुन कुमालले दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे । सम्रा १४ बलमा १९ रन बनाएर आउट भएपछि पोखराले नियमित अन्तरमा विकेट गुमाउन थाल्यो ।
एक छेउबाट अर्जुन कुमालले इनिङ्स सम्हाले पनि उनलाई अर्को छेउबाट गतिलो साथ मिलेन । सदिरा समराविक्रमा ४ र महेदी हसन ७ रनमा आउट हुँदा पोखराले ७८ रनमा चार विकेट गुमाएको थियो ।
किरण ठगुन्नाले अर्जुनलाई साथ दिने प्रयास गरे पनि १३ बलमा १३ रन बनाएर आउट भए । नयाँ कप्तान चमिका करुणारत्ने विकेटकिपर अर्जुन घर्तीभन्दा अघि सातौँ नम्बरमा ब्याटिङ गर्न आएका थिए । तर उनी २ रनमै आउट भए । सुदिप अर्याल, विपिन खत्री र सागर ढकालले खाता खोल्न सकेनन् ।
चितवनका रिजन ढकालले ४ ओभरमा २४ रन खर्चेर चार विकेट लिए । कमल सिंह ऐरीले २ ओभरमा एक मेडन राख्दै ७ रन मात्र खर्चेर तीन विकेट लिए । डान मोस्ले, मौसम ढकाल र कुशल मल्लले एक–एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो । चितवनका लागि कप्तान सिकन्दर राजाले सर्वाधिक ३७, रवि बोपाराले ३५, अर्जुन साउदले ३१ र डाविड मालानले २८ रन बनाए ।
ओपनिङ गरेका अर्जुन साउद र डाविड मालानले पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्दै चितवनलाई राम्रो सुरुवात दिलाएका थिए । अर्जुनले २७ बलमा दुई चौका र एक छक्कासहित ३१ रन बनाए । मालानले २८ बलमा तीन चौकासहित २८ रन जोडे । दुवै ब्याटर लगातार आउट भए ।
त्यसपछि रवि बोपाराले एक छेउ सम्हाले पनि डान मोस्ले २ र यस सिजन पहिलो खेल खेलिरहेका मार्की खेलाडी कुशल मल्ल ११ रनमा आउट भए । ८६ रनमा चार विकेट गुमाएको अवस्थामा बोपारा र कप्तान राजाले पाँचौँ विकेटका लागि ६० रनको साझेदारी गर्दै इनिङ्स अघि बढाए ।
तर अन्तिम ओभरमा पोखराका कप्तान चमिका करुणारत्नेले दुवैलाई आउट गरे । आउट हुनुअघि बोपाराले २८ बलमा तीन चौका र एक छक्कासहित ३५ रन बनाए । आक्रामक ब्याटिङ गरेका राजा १६ बलमा दुई चौका र चार छक्कासहित ३७ रनमा आउट भए । कमल सिंह ऐरी २ रनमा अविजित रहे ।
पोखराका लागि चमिका करुणारत्ने, विपिन खत्री र कुशल भुर्तेलले समान दुई विकेट लिए । लगातार तीन हारपछि पोखराले कप्तान परिवर्तन गर्दै कुशल भुर्तेलको स्थानमा श्रीलंकाका बलर करुणारत्नेलाई कप्तानीको जिम्मेवारी दिएको थियो ।

























