खगोल विज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीलाई ऐतिहासिक स्वर्ण

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २३, सोमबार १०:०६

काठमाडौं । नेपाली विद्यार्थीले पाँचौँ अन्तर्राष्ट्रिय खगोल विज्ञान तथा खगोल भौतिक विज्ञान ओलम्पियाड (कनिष्ठतर्फ) मा स्वर्ण पदक जितेका छन् । थाइल्यान्डमा नोभेम्बर १ देखि ८ सम्म आयोजित प्रतियोगितामा नेपाली टोलीले एक स्वर्ण, एक कास्य र एक सम्मानजनक उल्लेख (अनरेबल मेन्सन) प्राप्त गरेको हो ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईका अनुसार प्रतियोगितामा टोलीका सदस्य शाहवाज आलमले स्वर्ण पदक जितेका छन् । समग्र अन्तर्राष्ट्रिय विज्ञान ओलम्पियाडको इतिहासमा नेपाली विद्यार्थीले स्वर्ण जितेको यो पहिलो पटक भएको सोसाइटीले जनाएको छ ।

त्यस्तै, सहज केसीले कास्य पदक र इभान दुबेले सम्मानजनक उल्लेख प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी अभिउदय ढुंगाना र अखिलेश पोखरेलले पनि प्राविधिक तथा प्राज्ञिक विधामा राम्रो प्रदर्शन गरेको सोसाइटीले जनाएको छ ।

थाइल्यान्डको उबोन रात्चाथानीमा आयोजित पाँचौँ अन्तर्राष्ट्रिय ओलम्पियाड अन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स–कनिष्ठ (आईओएए–जेआर २०२६) मा विश्वका विभिन्न देशका विद्यार्थी सहभागी थिए ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२६ को छनोट प्रक्रिया र बन्द शिविरमा विशेष प्रशिक्षणपछि नेपाली विद्यार्थीलाई प्रतियोगितामा सहभागी गराइएको थियो । नेपाली टोलीको नेतृत्व सोसाइटीका मनिषा द्वा र ओशन शर्मा कट्टेलले गरेका थिए ।

यसअघि खगोल विज्ञान ओलम्पियाडमा नेपालले कास्य पदक प्राप्त गर्दै आएको थियो । यसपटकको स्वर्ण पदकले नेपाली विद्यार्थीको अन्तर्राष्ट्रियस्तरको वैज्ञानिक क्षमता प्रदर्शन गरेको सोसाइटीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.