
दैलेख । दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।
कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको जिप सोमबार बिहान करिब ५:३० बजे सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो । विषादी सेवन गरेकी बिरामीलाई अक्सिजन सिलिन्डरसहित उपचारका लागि सुर्खेत लैजाँदै गर्दा क.प्र.०२–००१ च १२१५ नम्बरको जिप अनियन्त्रित भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कालिकोटको सन्नित्रिवेणी गाउँपालिका–६ का ४१ वर्षीय रने सार्कीको मृत्यु भएको छ । उनको बिहान ८ः५६ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा जिप चालक सन्नित्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय योगेश सिंखडा, सोही ठाउँका १८ वर्षीय गंग सार्की र २१ वर्षीय तपेन्द्र सिंखडा घाइते भएका छन् । त्यस्तै, वडा नं. ६ की ३६ वर्षीया जादुकाल सार्की र २७ वर्षीया कैसी साकी पनि गम्भीर घाइते भएका छन् ।
घाइते सबैलाई तत्काल उद्धार गरी सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

























