
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका-९ खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा तीन जनाको ज्यान गएको हो ।
प्रहरीका अनुसार सोमबार बिहान करिब १०:५५ बजे बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भएर सडकबाट तल खसेको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका-५ घर भई हाल विदुर नगरपालिका-९ बस्दै आएका ४७ वर्षीय बुद्धिमान तामाङ तथा विदुर नगरपालिका-१३ का ३१ वर्षीया बिन्दा थापा मगर र २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको हो ।
तीनै जनाको उपचारका क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

























