घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २३, सोमबार १५:२३
तस्बिरः फायल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको पहिरो हटाइएपछि अवरुद्ध सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ।

गए राति करिब १ बजे खसेको पहिरो पन्छाएर सोमबार दिउँसो १ः३० बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो । सडक खुलेसँगै लामो समयदेखि जाममा रोकिएका सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दिउँसो १ः२५ बजे पहिरो हटाउने काम सम्पन्न भएको थियो । पहिरो व्यवस्थापनका लागि मुग्लिन र धादिङ दुवैतर्फबाट ६ वटा लोडर, एक्साभेटर तथा जेसीबी परिचालन गरिएको थियो ।

मुग्लिनबाट करिब तीन किलोमिटर काठमाडौंतर्फ पर्ने घोप्टेभिरमा आइतबार दिउँसो पनि सुक्खा पहिरो खसेर केही समय सडक अवरुद्ध भएको थियो । सोही स्थानमा गए राति पुनः पहिरो खसेपछि पृथ्वी राजमार्गमा यातायात पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ ।

लामो समय राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधनले सास्ती बेहोर्नुपरेको थियो। पहिरो हटाइएसँगै अहिले राजमार्गमा यातायात सेवा नियमित भएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.