
तिहार नेपाली समाजको आत्मीयता, उमङ्ग र सांस्कृतिक विविधता झल्काउने पर्व हो । घरआँगनमा बालिने दीप, झिलिमिली बत्ती, फूलमाला, देउसी-भैलो र दाजुभाइ-दिदीबहिनीबीचको स्नेहले यो पर्वलाई विशेष बनाउँछन् । काग, कुकुर, गाई र गोरुप्रति सम्मान प्रकट गर्दै प्रकृति र जीवजन्तुसँगको सम्बन्धलाई सम्झिने अवसर पनि हो तिहार ।
त्यसैले यो पर्व केवल रमाइलो र उत्सवको समय मात्र होइन, आपसी सद्भाव, सहअस्तित्व र पारिवारिक सम्बन्धलाई नवीकरण गर्ने अवसर पनि हो । पर्वको उल्लास मनाउँदै गर्दा त्यससँग जोडिएका जिम्मेवारीलाई भने बिर्सनु हुँदैन । पछिल्ला वर्षमा तिहारका नाममा पटका, आतसबाजी र विस्फोटक पदार्थको प्रयोग बढ्ने गरेको छ ।
केही क्षणको मनोरञ्जनका लागि गरिने यस्तो गतिविधिले मानवीय स्वास्थ्य, वातावरण र जनधनमा जोखिम निम्त्याउन सक्छ । पटका पड्काउँदा आगलागी र दुर्घटनाको सम्भावना रहन्छ । यसको ध्वनि र धुवाँले बालबालिका, ज्येष्ठ नागरिक, बिरामी तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिलाई असर पुर्याउँछ । पशुपन्छीसमेत चर्को आवाजबाट त्रसित हुन्छन् । त्यसैले सकेसम्म पटका र आतसबाजीको प्रयोग नगर्नु नै उचित हुन्छ । प्रयोग गरिहाले पनि अरूलाई असर नपर्ने गरी अत्यन्त सावधानी अपनाउनुपर्छ ।
तिहारको अर्को महत्वपूर्ण पक्ष देउसी- भैलो हो । यो केवल मनोरञ्जनको माध्यम होइन, नेपाली लोकसंस्कृति र सामूहिकताको जीवन्त अभ्यास पनि हो । गाउँटोलमा समूह बनाएर घरघर पुग्ने, गीत गाउने र शुभकामना साटासाट गर्ने परम्पराले समुदायबीच आत्मीयता बढाउँछ ।
पछिल्लो समय कतिपय ठाउँमा देउसी-भैलोका नाममा चर्को आवाजमा गीत बजाउने, राति अबेरसम्म अरूलाई बाधा पुग्ने गरी कार्यक्रम गर्ने, जबर्जस्ती चन्दा माग्ने र उच्छृङ्खल गतिविधि गर्ने प्रवृत्ति पनि देखिन्छ । यस्तो व्यवहारले पर्वको मौलिकता र सामाजिक मर्यादामाथि प्रश्न उठाउँछ ।
देउसी-भैलो खेल्दा अनुशासन र मर्यादालाई उत्तिकै महत्व दिनुपर्छ । कसैको घरमा जाँदा घरधनीको इच्छा र सुविधाको सम्मान गर्नुपर्छ । चन्दा वा दक्षिणाका लागि दबाब दिनु हुँदैन । बालबालिका, वृद्धवृद्धा र बिरामीलाई असर पर्ने गरी होहल्ला गर्नु पनि उचित होइन । मनोरञ्जनका नाममा अरूको शान्ति र अधिकारमा हस्तक्षेप गर्ने छुट कसैलाई छैन । सबैसँग सम्मानपूर्वक प्रस्तुत हुँदै आपसी सद्भाव कायम राख्नु नै देउसी-भैलोको वास्तविक मर्म हो ।
पर्व मनाउने क्रममा सडक सुरक्षा, आगलागी नियन्त्रण र व्यक्तिगत सुरक्षामा पनि ध्यान दिन आवश्यक छ । बालबालिकालाई पटका वा अन्य जोखिमपूर्ण सामग्रीबाट टाढा राख्नुपर्छ । घरमा दीप वा मैनबत्ती बाल्दा आगलागीको जोखिम नहोस् भनेर सावधानी अपनाउनुपर्छ । चाडपर्वका बेला हुने जमघट र आवतजावतमा पनि जिम्मेवार व्यवहार आवश्यक छ ।
तिहारले अन्धकारमाथि उज्यालोको विजयको सन्देश दिन्छ । त्यो उज्यालो घरमा बालिने दीपमा मात्र सीमित हुनु हुँदैन, हाम्रो व्यवहार र सोचमा पनि देखिनुपर्छ । अरूको खुसी, सुविधा र सुरक्षाको ख्याल गर्नु नै पर्व मनाउने संस्कार हो । घृणा र वैमनस्य त्यागेर प्रेम, सद्भाव र सहकार्यको भावना बढाउनु यसको सुन्दर पक्ष हो ।
त्यसैले यस वर्षको तिहार हर्षोल्लासका साथ मनाऔँ, तर कसैलाई दुःख नदिई । पटका र आतसबाजीको प्रयोग घटाऔँ, वातावरण र पशुपन्छीको संरक्षण गरौँ । देउसी-भैलोमा अनुशासन र मर्यादा कायम राखौँ । आफ्नो खुसीसँगै अरूको शान्ति र सुरक्षाको पनि ख्याल गरौँ । तिहारको वास्तविक उज्यालो त्यतिबेला मात्र फैलिन्छ, जब हाम्रो उत्सवले सबैको मनमा खुसी र समाजमा सद्भाव थप्छ ।

























