काँकडभिट्टा नाकाबाट एक महिनामै ९९ करोडको अलैँची निर्यात

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २४, मंगलबार ०७:००

विराटनगर । पूर्वी नेपालको कृषि तथा औद्योगिक उत्पादनको निर्यातमा काँकडभिट्टा नाकाको योगदान उल्लेख्य देखिएको छ। झापाको काँकडभिट्टा नाका हुँदै गत असोज महिनामा मात्रै करिब ९९ करोड रुपैयाँ बराबरको अलैँची भारत निर्यात भएको छ। अलैँचीसँगै चिया, प्लाइउड, फलामे पाता, अम्रिसो, छुर्पी र सुकुटीको निर्यातसमेत उत्साहजनक देखिएको छ।

मेची भन्सार कार्यालयका अनुसार असोजमा ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको ५ लाख ४१ हजार ९४० केजी अलैँची भारततर्फ निर्यात भएको हो।

कार्यालयका सूचना अधिकारी  माङ्कल राईका अनुसार सोही अवधिमा ४९ करोड ५४ लाख ५२ हजार रुपैयाँ बराबरको १७ लाख १५ हजार ९३२ केजी चिया र ४४ करोड २३ लाख ४८ हजार रुपैयाँ बराबरको १ लाख १८ हजार ४४४ केजी प्लाइउड निर्यात भएको छ। अलैँची, चिया र प्लाइउड झापा, इलाम, पाँचथर तथा ताप्लेजुङका प्रमुख निर्यातजन्य उत्पादन हुन्।

यसैगरी, औद्योगिक उत्पादनतर्फ २९ करोड ८४ लाख ६७ हजार रुपैयाँ बराबरको २० लाख ८० हजार ७६३ केजी फलामे पाता निर्यात भएको भन्सार कार्यालयले जनाएको छ। कृषि उत्पादनतर्फ अम्रिसोको निर्यात पनि उल्लेख्य छ। असोजमा ८ करोड ९५ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख १९ हजार १४० केजी अम्रिसो भारत पठाइएको सूचना अधिकारी राईले जानकारी दिए।

त्यस्तै, घरपालुवा कुकुर तथा बिरालोको आहाराका रूपमा प्रयोग हुने छुर्पी र सुकुटीको निर्यातसमेत राम्रो देखिएको छ। असोजमा ८ करोड ९५ लाख ३६ हजार रुपैयाँ बराबरको ४६ हजार ७४५ केजी छुर्पी तथा ४ करोड ८३ लाख १८ हजार रुपैयाँ बराबरको ४८ हजार ३१८ केजी सुकुटी ९सुकाएको मासु० निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.