
एजेन्सी । टर्कीको पश्चिमी क्षेत्रमा पर्ने इजमिर सहरनजिकै रहेको एक स्टिल उद्योगमा विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । घटनामा अन्य चार जनाभन्दा बढी घाइते भएका छन् ।
अलियागास्थित हबास डेमिर सेलिक स्टिल प्लान्टमा सोमबार दिउँसो विस्फोट भएको हो । मृत्यु हुने र घाइते हुने सबै उद्योगमा कार्यरत मजदुर रहेको बीबीसीले जनाएको छ ।
स्थानीय गभर्नरका अनुसार नयाँ बोयलर क्रेनमार्फत ओसार्ने क्रममा दुर्घटना भएको थियो । बोयलर लैजाँदै गरेको क्रेन अचानक खसेपछि त्यससँग सम्बन्धित उपकरण तल रहेको भट्टीमा खसेको थियो । त्यसलगत्तै शक्तिशाली विस्फोट भएको बताइएको छ ।
घटनास्थलबाट सार्वजनिक भएका भिडियोमा उद्योग परिसरभित्र भीषण आगलागी भएको र आकाशमा धुवाँको ठूलो मुस्लो उठेको देखिएको छ ।
टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले सुरुमा दुर्घटनामा ११ जनाको मृत्यु भएको जानकारी दिएका थिए । पछि स्वास्थ्य मन्त्री केमल मेमिसोग्लुले गम्भीर घाइते एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेपछि मृतकको सङ्ख्या १२ पुगेको हो ।

























