
सुर्खेत । कर्णाली प्रदेशमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ३२ मध्ये २३ खेल मुख्य आयोजकस्थल सुर्खेतमा सञ्चालन हुने भएका छन् ।
भौगोलिक कठिनाइ र पूर्वाधारको अवस्थाका कारण अधिकांश खेल सुर्खेतमै आयोजना गर्न लागिएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पाँच खेल कर्णालीका अन्य चार जिल्लामा र चार खेल लुम्बिनी प्रदेशका दुई जिल्लामा सञ्चालन हुनेछन् ।
प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार मङ्सिर ८ गतेदेखि नै केही खेलका प्रतिस्पर्धा सुरु हुनेछन् । त्यस दिनदेखि पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीलगायतका खेल सञ्चालन हुनेछन् ।
सुर्खेतमा एथ्लेटिक्स, पुरुष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी र साइक्लिङजस्ता मैदानी खेल आयोजना हुनेछन् । कराते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, उसु र बक्सिङजस्ता मार्सल आर्ट्सका खेल पनि यहीँ सञ्चालन हुनेछन् ।
त्यस्तै, ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास, बास्केटबल, कबड्डी, आर्चरी, भारोत्तोलन, इस्पोर्ट्स र सेपाकताक्रोका प्रतिस्पर्धा पनि सुर्खेतमै हुनेछन् ।
कर्णालीका अन्य जिल्लामा भने पूर्वाधार र भौगोलिक अनुकूलताका आधारमा खेल बाँडफाँट गरिएको छ । आयोजक समितिका अनुसार दैलेखमा आइटिएफ तेक्वान्दो, कालीकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा पश्चिम रुकुममा शारीरिक सुगठन प्रतियोगिता सञ्चालन हुनेछ ।
लुम्बिनी प्रदेशका दुई जिल्लामा पनि केही खेल आयोजना गरिनेछन् । पौडी र सुटिङ नेपालगञ्जमा तथा टेनिस र खो–खो बर्दियामा सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ ।

























