छठको तयारीमा जुट्यो जनकपुर

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २४, मंगलबार १५:२४

काठमाडौं । मधेश प्रदेशमा छठ पर्वको तयारीले तीव्रता पाएको छ । जनकपुरधामका प्रमुख पोखरी तथा तलाउको सरसफाइ र सजावट सुरु भएसँगै बजारमा पूजाका सामग्री किनमेल गर्नेको चहलपहल पनि बढेको छ ।

मिथिलाञ्चलको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको छठ पर्वलाई भव्य रूपमा मनाउन गंगासागर, धनुषसागर, रत्नसागर र दशरथ तलाउलगायतका जलाशय सफा तथा सजाउने काम भइरहेको जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहले जानकारी दिए ।

उनका अनुसार स्थानीयवासीको सहयोगमा विशेषगरी गंगासागर र धनुषसागर छठ घाटको व्यवस्थापनलाई तीव्रता दिइएको छ । यस वर्ष प्रधानमन्त्री वालेन्द्र शाहसमेत छठ पर्वको अवलोकनका लागि जनकपुरधाम जाने तयारी रहेकाले गंगासागर घाटलाई थप आकर्षक बनाउने काम भइरहेको छ ।

यता, जनकपुरधामको पेठिया बजार, गाउँघरका हाट तथा मेलामा छठ पूजाका सामग्री किनमेल गर्नेको चहलपहल बढ्न थालेको छ । बाँसबाट बनेका परम्परागत सामग्रीको माग पनि बढेको स्थानीय सुमित्रादेवी कर्णले बताइन् ।

छठ नजिकिएसँगै बाँसका सामग्री बनाउने डोम समुदायका कारीगरलाई पनि भ्याइनभ्याइ भएको छ । उनीहरूले पुस्तौँदेखि पुर्ख्यौली पेसाका रूपमा छिटी, नाङ्लो र ढाकीजस्ता सामग्री उत्पादन गर्दै आएका छन् । पर्वका बेला यस्ता सामग्रीको माग बढ्ने भएकाले स्थानीय कारीगरको आम्दानीको स्रोतसमेत बन्ने गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.