
काठमाडौं । बलरहरूको उत्कृष्ट प्रदर्शनमा दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ ।
सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा सबै विकेट गुमाएर ९३ रनमै समेटियो ।
६ खेलमा चौथो जित हात पारेको सुदूरपश्चिम ८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । समान अंक जोडेको शीर्ष स्थानको काठमाडौं गोर्खाजभन्दा सुदूरपश्चिम रनरेटमा पछि छ । यो जितसँगै सुदूरपश्चिमले प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।
पहिलो संस्करणको च्याम्पियन जनकपुरको भने ६ खेलमा यो चौथो हार हो । ४ अंकसहित पाँचौँ स्थानमा रहेको जनकपुरलाई यो हारले प्लेअफ दौडमा दबाब थपेको छ ।
जनकपुरका लागि तृतराज दासले सर्वाधिक २१, जिमी निसमले २० र आदित्य महताले १० रन बनाए । ११औँ नम्बरमा ब्याटिङ गर्न आएका राहुल यादवले ११ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर अनिल शाह २, ह्यारी टेक्टर १, रायन बर्ल ८, विशाल सुशलिङ २, कप्तान हरमीत सिंह ४ र अभिषेक तिवारी २ रनमा आउट भए । ललित राजवंशीले खाता खोल्न सकेनन् ।
निसम र ललितले नवौँ विकेटका लागि गरेको २० रनको साझेदारी जनकपुरको इनिङ्सकै ठूलो साझेदारी बन्यो ।
सुदूरपश्चिमका स्कट कुगेलेइनले ३ विकेट लिए । हमेन्त धामी, थरिन्दु रत्नायके, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले १–१ विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३३ रन बनाए । उनले २३ बलमा २ चौका र २ छक्का प्रहार गरे । थरिन्दु रत्नायकेले २८ बलमा १ चौका र २ छक्कासहित अविजित २७ रन बनाए । आरिफ शेखले ११ तथा ओपनर सैफ अली जैब र विनोद भण्डारीले समान १० रन जोडे ।
जैब र भण्डारीले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरेका थिए । यही साझेदारी सुदूरपश्चिमको इनिङ्सकै ठूलो बन्यो । त्यसपछि लगातार विकेट गुमाएको सुदूरपश्चिमले ठूलो साझेदारी गर्न नसक्दा सामान्य योगफलमै रोकियो ।
जनकपुरका कप्तान हरमीत सिंहले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । ह्यारी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले १–१ विकेट लिए । यसै खेलबाट एनपीएलमा डेब्यु गरेका आयरल्यान्डका टेक्टरले ४ ओभरमा जम्मा ९ रन खर्चिए ।
सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेल काठमाडौं गोर्खाजसँग खेल्नेछ भने जनकपुरले चितवन राइनोजको सामना गर्नेछ ।

























