पोखरामा १९औँ भाइटीका महोत्सव

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २५, बुधबार ०७:५९

कास्की । नेपाली मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै आएको होटल सङ्घ पोखराले बुधबार पोखरामा १९औँ भाइटीका महोत्सव आयोजना गर्दैछ ।

तिहारको सांस्कृतिक महत्वलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने र संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । पोखरा–६, लेकसाइडस्थित होटल पौवामा दिउँसोदेखि सुरु हुने महोत्सवमा करिब एक सय विदेशी पर्यटकलाई भाइटीकाको टीका लगाउने तयारी गरिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

उनका अनुसार नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षणसँगै तिनलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको हो ।

“नेपाली चाडपर्व र संस्कृतिप्रति विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । भाइटीका महोत्सवमा सहभागी हुन कतिपय पर्यटक वर्षेनि पोखरा आउने गरेका छन् भने केही पर्यटक दोहोर्‍याएरसमेत टीका लगाउन आउने गरेका छन्”, अध्यक्ष सुवेदीले भने ।

महोत्सवमा सहभागी विदेशी पर्यटकलाई नेपाली समाजमा भाइटीकाको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे जानकारी गराइनेछ । दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परालाई प्रत्यक्ष अनुभव गराउनु कार्यक्रमको मुख्य आकर्षण रहनेछ ।

त्यस अवसरमा पर्यटकलाई सेलरोटीलगायत नेपाली परम्परागत परिकार खुवाउनुका साथै मौलिक देउसी–भैलोसमेत प्रस्तुत गरिनेछ । नेपाली संस्कृतिको जीवन्त अनुभव दिलाउँदै पर्यटकलाई स्थानीय चाडपर्व र परम्परासँग जोड्ने लक्ष्य महोत्सवले लिएको छ ।

होटल सङ्घ पोखरा नेपालले विगतदेखि निरन्तर आयोजना गर्दै आएको भाइटीका महोत्सवले पोखराको पर्यटनलाई सांस्कृतिक पहिचानसँग जोड्न योगदान पुर्‍याउँदै आएको छ । महोत्सवले पोखरा घुम्न आउने विदेशी पर्यटकलाई नेपाली संस्कृति बुझ्ने र त्यसमा प्रत्यक्ष सहभागी हुने अवसर प्रदान गर्ने अपेक्षा गरिएको अध्यक्ष सुवेदीले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.