
विराटनगर । मोरङको रंगेलीमा सामान्य विवादपछि श्रीमानले फलामको रड प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएकी छन् । प्रहरीले कुटपिटमा संलग्न श्रीमानलाई नियन्त्रणमा लिएको छ ।
रंगेली नगरपालिका–७ की १८ वर्षीया नन्दनीकुमारी साहलाई उनका श्रीमान् विवेक साहले बुधबार साँझ फलामको रडले प्रहार गरी कुटपिट गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सामान्य भनाभनपछि भएको विवादका क्रममा विवेकले रड प्रहार गर्दा नन्दनीको टाउकोमा गहिरो चोट लागेको छ।
घाइते नन्दनीलाई उपचारका लागि रंगेली अस्पताल पुर्याइएको छ। उनको अवस्था मध्यम रहेको छ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न विवेकलाई नियन्त्रणमा लिई कार्यालयमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























