कर्णालीलाई हराउँदै लुम्बिनी प्लेअफमा

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २६, बिहीबार २०:२८

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । बिहीबार भएको कम स्कोरको खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल अगावै प्लेअफमा स्थान पक्का गरेको हो ।

कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका लागि डार्शी सर्टले सर्वाधिक ४६ रन बनाए । अर्धशतक बनाउन चार रनले चुकेका उनले ३४ बलमा ६ चौका र एक छक्का प्रहार गरे । दिलीप नाथ २८ रनमा अविजित रहे ।

लुम्बिनीले सुरुवातमै लगातार विकेट गुमाएको थियो । आसिफ पौडेल र कप्तान रोहित पौडेल समान एक तथा सन्दीप जोरा चार रनमा आउट भएपछि टोलीले १९ रनमै तीन विकेट गुमाएको थियो । त्यसपछि सर्ट र निरोशन डिकवेलाले चौथो विकेटका लागि ४१ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले ।

डिकवेलाले १३ बलमा दुई चौकासहित १६ रन बनाए। उनी आउट भएपछि सर्टले दिलीप नाथसँग मिलेर इनिङ्स अघि बढाए । सर्ट १४औँ ओभरमा आउट भए पनि दिलीपले टोलीलाई जितसम्म पुर्‍याए। शमिम हुसेन पाँच रनमा आउट भए । दिलीपले २७ बलमा चार चौकासहित अविजित २८ रन बनाए। उनले हुसेन तलतको बलमा विजयी चौका प्रहार गरे ।

कर्णालीका मार्क वाटले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा एक मेडनसहित १२ रन खर्चेर चार विकेट लिए । पवन सर्राफ र हुसेन तलतले एक–एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा १०५ रनमा अलआउट भएको थियो । उसका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । उनले १८ बलमा चार चौका र एक छक्का प्रहार गरे । हुसेन तलतले २२ बलमा दुई चौका र एक छक्कासहित २४ रन जोडे । पवन सर्राफले १२ र गुल्सन झाले १३ रन बनाए ।

कर्णालीका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यस सिजन पहिलो खेल खेल्दै ओपनिङ गरेका दीपेन्द्र रावत खाता नखोली आउट भए । अरिफुल इस्लाम र दीपक डुम्रे समान चार, कप्तान डेभिड मिलर पाँच, मार्क वाट दुई र नन्दन यादव तीन रनमा आउट भए ।

१५ रनमै चार विकेट गुमाएको कर्णालीका लागि पवन र सोमपालले पाँचौँ विकेटका लागि ४० रनको साझेदारी गरेका थिए । तर, नियमित अन्तरमा विकेट गुमाउँदा टोली ठूलो स्कोर बनाउन असफल भयो ।

लुम्बिनीका अभिशेष गौतम, डार्शी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले दुई–दुई विकेट लिए । रुबेन ट्रम्पलम्यान र शेर मल्लले एक–एक विकेट लिए । यो जितसँगै ६ खेलबाट नौ अङ्क जोडेको लुम्बिनी शीर्ष स्थानमा उक्लिएको छ । लिग चरणको अन्तिम खेलमा उसले विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ ।

लगातार चौथो हार बेहोरेको कर्णालीको प्लेअफ सम्भावना भने कमजोर बनेको छ । सुरुवाती दुई खेल जितेको कर्णाली त्यसपछि लगातार चार खेलमा पराजित भएको हो। ६ खेलबाट चार अङ्क जोडेको कर्णाली सातौँ स्थानमा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.