
टर्की । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग नेपालको जलवायु संकट, विपद् व्यवस्थापन र पुनर्निर्माणका विषयमा छलफल गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा सहभागी हुन टर्कीको अन्ताल्या पुगेका मन्त्री खनालले महासचिव गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्दै जलवायु परिवर्तनबाट नेपालले भोगिरहेका चुनौती र त्यसको सामना गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको विषय उठाएका हुन् ।
भेटमा हालैको जलवायुजन्य भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा छलफल भएको थियो । विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहकार्य र सहयोगको महत्त्वबारे दुवै पक्षले विचार आदानप्रदान गरेका थिए ।
मन्त्री खनालले भोटेकोशी बाढीपछि नेपालप्रति समवेदना र ऐक्यबद्धता प्रकट गरेकोमा महासचिव गुटेरेसलाई धन्यवाद दिएका थिए । उनले बहुपक्षीयता, विश्व शान्ति, मानवीय गरिमा र दिगो विकासका क्षेत्रमा गुटेरेसको नेतृत्व तथा योगदानको प्रशंसासमेत गरे ।
जवाफमा महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा सेना तथा प्रहरी पठाउने प्रमुख राष्ट्रमध्ये नेपाल एक रहेको उल्लेख गर्दै विश्व शान्ति र स्थायित्वका लागि नेपालको योगदानको सराहना गरेका थिए ।
दुवैबीच जलवायु परिवर्तनका कारण बढिरहेका बहुप्रकोपको जोखिम न्यूनीकरण, प्रभावकारी पूर्वसूचना प्रणालीको विकास, जलवायु वित्तमा वृद्धि तथा जलवायु कार्यलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो । साथै, विश्वव्यापी शासन प्रणालीमा सुधार र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा सहकार्य विस्तार गर्ने विषयले समेत भेटमा स्थान पाएको थियो ।
जलवायु परिवर्तनको असरबाट बढी प्रभावित मुलुकमध्ये नेपालले भोगिरहेका समस्या सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायको सहकार्य र बहुपक्षीय प्रयासलाई थप प्रभावकारी बनाउनुपर्नेमा भेटवार्ताले जोड दिएको छ ।

























