
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको पराजयपछि आन्तरिक निराशा, संगठनात्मक कमजोरी र कार्यकर्तामा देखिएको अन्योल हटाउने चुनौती सामना गरिरहेको नेकपा (एमाले)ले पार्टीलाई पुनः सक्रिय बनाउने उद्देश्यसहित राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ ।
मंसिर २ र ३ गते काठमाडौंमा हुने भेलालाई एमालेले संगठन सुधार, राजनीतिक दिशाको पुनर्निर्धारण र आगामी निर्वाचनको तयारी गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ । निर्वाचनको परिणामपछि पार्टीभित्र देखिएको असन्तुष्टि र निष्क्रियतालाई सम्बोधन गर्दै तल्लो तहसम्म संगठनलाई चलायमान बनाउने पार्टीको योजना छ ।
एमाले संगठन विभागको अगुवाइमा हुने भेलामा केन्द्रीय कमिटीदेखि वडा तथा पालिका तहसम्मका नेता, कार्यकर्ता र जनप्रतिनिधिको सहभागिता रहनेछ । पार्टीका अनुसार भेलामा ३ हजार १६४ जना सहभागी हुनेछन् ।
भेला व्यवस्थापन समितिका संयोजक तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले तयारी अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार भेलाले पार्टीभित्र राजनीतिक र सांगठनिक बुझाइमा एकरूपता ल्याउनुका साथै नेता–कार्यकर्तामा नयाँ उत्साह पैदा गर्ने अपेक्षा गरिएको छ ।
पार्टी कार्यालय च्यासलमा शुक्रबार महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको व्यवस्थापन समितिको बैठकले भेलाको तयारीका बारेमा छलफल गरेको थियो । एमालेले यस भेलालाई नेता–कार्यकर्ता भेला हुने कार्यक्रमका रूपमा मात्र नभई पार्टीको वर्तमान अवस्था समीक्षा गर्ने र आगामी कार्यदिशा तय गर्ने अवसरका रूपमा प्रस्तुत गरेको छ । विशेषगरी स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई समेत सहभागी गराएर पार्टीको वास्तविक जनाधार र तल्लो तहको अवस्थाका बारेमा जानकारी लिने उसको रणनीति छ ।
गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले तय गरेका कार्यभारलाई भेलाको मुख्य छलफलको विषय बनाइनेछ । आधारभूत वर्ग र समुदायसम्म संगठन विस्तार, योजनाबद्ध काम र मूल्यांकन प्रणालीको विकास, युवा तथा महिलालाई नेतृत्व र निर्णय प्रक्रियामा स्थापित गर्ने विषयलाई एमालेले प्राथमिकतामा राखेको छ ।
त्यस्तै, पार्टी पुनर्जागरण, प्रतिपक्षको प्रभावकारी भूमिका, डिजिटल माध्यमबाट राजनीतिक प्रतिवाद र निरन्तर संघर्षका विषयमा पनि छलफल हुनेछ । कार्यकर्ताको आत्मविश्वास बढाउने र जनतासँगको सम्बन्ध बलियो बनाउने विषयलाई पार्टी पुनर्जागरणको मुख्य आधार मानिएको छ ।
भेलाको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । उनले समसामयिक राजनीतिक अवस्था, पार्टीको दृष्टिकोण र आगामी राजनीतिक कार्यदिशाबारे सम्बोधन गर्नेछन् । वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको ढकालले जानकारी दिएका छन् ।
त्यसैगरी उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वका सरकारले गरेका काम र उपलब्धिबारे चर्चा गर्नेछन् भने महासचिव पोखरेलले पार्टी शुद्धीकरण, संगठन सुदृढीकरण र आगामी निर्वाचनको कार्ययोजनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने तयारी छ ।
राष्ट्रिय भेलाबाट पार्टीपंक्तिमा एउटै बुझाइ र कार्यशैली विकास गर्ने एमालेको अपेक्षा छ । विशेषगरी आगामी स्थानीय तह निर्वाचनलाई ध्यानमा राख्दै वडा र पालिका तहको संगठनलाई व्यवस्थित बनाउने विषयमा पनि भेलाले दिशा निर्देश गर्नेछ ।
एमालेले आगामी मंसिर २६ गते वडा कमिटी र पुस ४ गते पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरिसकेको छ । असोज २२ गते बसेको स्थायी कमिटीको प्रथम बैठकले तय गरेको अधिवेशन कार्यतालिकाअनुसार अब संगठनका तल्ला तहमा नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ । वडा र पालिका अधिवेशनपछि प्रदेश अधिवेशन गर्ने एमालेको तयारी छ ।
निर्वाचनको पराजयपछि पार्टीभित्र देखिएको निराशा हटाउने, संगठनलाई अनुशासित र सक्रिय बनाउने तथा आगामी निर्वाचनका लागि आधार तयार गर्ने जिम्मेवारी अब एमालेको राष्ट्रिय भेलामाथि छ । भेलाले तय गर्ने निष्कर्ष र त्यसको कार्यान्वयनले पार्टीको पुनरागमनको प्रयास कति प्रभावकारी हुन्छ भन्ने निर्धारण गर्नेछ ।

























