जनकपुरलाई हराउँदै चितवन प्लेअफ नजिक

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २७, शुक्रबार २०:३९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार भएको कम योगफलको खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गरेको छ । जितसँगै चितवनले प्लेअफ सम्भावना बलियो बनाएको छ भने जनकपुर र कर्णाली याक्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । चितवनका लागि डाविड मालानले अविजित ३५ रन बनाए । उनले ३९ बलमा एक छक्का प्रहार गरे । कुशल मल्लले १५, रवि बोपाराले १३ र कमिल मिसाराले १२ रन जोडे ।

सामान्य लक्ष्य पछ्याउने क्रममा चितवनले सुरुवातमै विकेट गुमाएको थियो । ओपनर अर्जुन साउद दोस्रो बलमै खाता नखोली आउट भए । ३७ रन बनाउँदा पाँच विकेट गुमाएको चितवनलाई मालान र कुशल मल्लले ३० रनको साझेदारी गर्दै सम्हालेका थिए ।

जनकपुरका राहुल यादवले तीन विकेट लिए भने ललित राजवंशीले दुई र विशाल सुशलिङले एक विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८८ रन बनाएको थियो ।

चितवनका स्पिनर रन्जित कुमार र कप्तान सिकन्दर राजाले उत्कृष्ट बलिङ गर्दै जनकपुरको ब्याटिङ लाइनअप ध्वस्त पारे । रन्जितले तीन ओभरमा एक मेडनसहित दुई रन खर्चेर तीन विकेट लिए। सिकन्दरले चार ओभरमा दुई मेडन राख्दै १० रन खर्चेर दुई विकेट लिए ।

जनकपुरका लागि कप्तान हर्मीत सिंहले सर्वाधिक २४ रन बनाए । सातौँ नम्बरमा ब्याटिङ गर्न आएका उनले २४ बलमा दुई चौका र एक छक्का प्रहार गरे । विशाल सुशलिङले १३ बलमा एक चौका र एक छक्कासहित १५ रन जोडे । राहुल यादवले अन्तिम बलमा छक्का प्रहार गर्दै अविजित १० रन बनाए ।

जनकपुरका ओपनर तृतराज दास पाँच रन बनाएर दोस्रो ओभरमा आउट भएपछि टोलीले नियमित अन्तरमा विकेट गुमाएको थियो । पाँचौँ विकेटका लागि विशाल सुशलिङ र आदित्य महताले गरेको १८ रनको साझेदारी नै जनकपुरको सबैभन्दा ठूलो साझेदारी बन्यो । सन्तोष कार्कीले १०, रायन बर्लले छ, आदित्य महताले चार र अभिषेक तिवारीले पनि चार रन बनाए। ह्यारी टेक्टर र जिमी निशम खाता नखोली आउट भए । ललित राजवंशी दुई रनमा अविजित रहे ।

चितवनका लागि कमिल मिसारले दुई विकेट लिए । कमल सिंह ऐरी र रिजन ढकालले पनि एक–एक विकेट लिए । छ खेलमा तीन जित हात पारेको चितवन सात अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । लिगको अन्तिम खेलमा चितवनले आइतबार कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि शनिबार विराटनगर किंग्स लुम्बिनी लायन्ससँग पराजित भए चितवनले अन्तिम खेलअघि नै प्लेअफमा स्थान पक्का गर्नेछ। विराटनगर विजयी भए चितवनले कर्णालीलाई हराउनुपर्नेछ ।

सातवटै खेल खेलेको जनकपुरले दुई जितबाट चार अंक मात्र जोड्यो। एक खेल खेल्न बाँकी कर्णालीको पनि चार अंक छ । अन्तिम खेल जिते पनि कर्णाली शीर्ष चारमा पुग्न नसक्ने भएपछि दुवै टोली प्लेअफ दौडबाट बाहिरिएका छन् ।

तपाइको प्रतिक्रिया
जनकपुरलाई हराउँदै चितवन प्लेअफ नजिक
अनियमितता प्रकरण : डीडीसी विराटनगर आयोजनाका प्रमुख पक्राउ
मोरङमा साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद
कोशीमा लिम्बू भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न शब्दावली विकासमा जोड
विश्वभरका बौद्ध गुरुहरूको सहभागितामा डुक्पा परिषद् सुरु
नेपालको जलवायु वित्त ऋणभन्दा अनुदानमा आधारित हुनुपर्नेमा जोड
मृतकका परिवारलाई जनही एक लाख राहत
कोशीका पहाडी पालिकामा रास्वपाको वडाध्यक्ष बन्ने उम्मेदवार नै भेटिएनन्
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
निर्वाचन प्रहरीको पोसाक खरिद प्रकरणमा अख्तियारको अनुसन्धान तीव्र
प्रहरीमा बढुवाको दौड तीव्र, एआईजीदेखि डीआईजीसम्म पद रिक्त हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.