
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (शुक्रबार) दुईवटा महत्त्वपूर्ण खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा हुने खेलमा चार टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो १२ः३० बजे सुरु हुने खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रिनेछन् ।
काठमाडौं गोर्खाजले अहिलेसम्म खेलेका ५ मध्ये ४ खेल जित्दै ८ अंक जोडेको छ । टोली अंक तालिकाको दोस्रो स्थानमा छ । समान ८ अंक रहेको सुदूरपश्चिमले भने ६ खेल खेलिसकेको छ । ४ जित निकालेको सुदूरपश्चिम रनरेटका आधारमा तेस्रो स्थानमा छ । शुक्रबारको खेल सुदूरपश्चिमका लागि लिग चरणको अन्तिम खेलसमेत हो ।
त्यस्तै, साँझ ५ बजे चितवन राइनोज र जनकपुर बोल्ट्सबीच दोस्रो खेल हुनेछ । ५ खेलबाट ५ अंक जोडेको चितवन अंक तालिकाको पाँचौं स्थानमा छ । ६ खेल खेलेको जनकपुरले ४ अंक मात्रै जोडेको छ । जनकपुर तालिकाको छैटौं स्थानमा छ ।
लिग चरणको अन्तिम खेल खेल्न लागेको जनकपुरका लागि शुक्रबारको प्रतिस्पर्धा महत्त्वपूर्ण हुनेछ । चितवन पनि अंक सुधार गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ । दुवै खेलले अंक तालिकाको समीकरणमा थप प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

























