
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो पक्षमा बहुमत पुग्ने अवस्था नरहेकाले मत विभाजनमा जानुभन्दा राजीनामा दिने निर्णय गरेको बताए ।
प्रदेशसभामा बहुमत जुट्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री यादवले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको प्रक्रिया अघि बढाउनुअघि नै राजीनामाको घोषणा गरेका हुन् । उनको घोषणापछि सभामुख रामआशिष यादवले मत विभाजन आवश्यक नरहेको भन्दै प्रदेशसभा बैठक स्थगित गरेका छन् ।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले आफ्नो कार्यकालमा संघीयतालाई बलियो बनाउने, सुशासन कायम गर्ने तथा प्रदेशको विकास र समृद्धिका लागि विभिन्न काम गरेको बताए । आफूले गरेका कामबाट सन्तुष्ट रहेको उल्लेख गर्दै उनले पदभन्दा प्रदेशको प्रतिष्ठा र लोकतान्त्रिक मूल्य-मान्यता महत्त्वपूर्ण रहेको धारणा राखे ।
उनले सुशासन र प्रशासनिक सुधारका लागि विभिन्न पहल गरेको बताउँदै मन्त्रालयको संख्या घटाउने विषयमा प्रतिवेदन तयार पारिएको जानकारी दिए । मन्त्रालयको संख्या घटाउने प्रक्रिया अघि बढिरहेका बेला नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्यान्वयनमा समस्या आएको उनको भनाइ थियो । आगामी सरकारले पनि प्रशासनिक सुधार र मन्त्रालयको संख्या घटाउने विषयलाई गम्भीरतापूर्वक अघि बढाउने उनले विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री यादवले विकास निर्माणका योजनामा हुने अनियमितता तथा खरिद–बिक्री रोक्न पहल गरेको, बेरुजु घटाउने कार्यविधि तयार पारेको र रकमान्तर नियन्त्रण गर्दै राजस्व वृद्धि गर्ने प्रयास गरेको बताए । त्यस्तै, सरकारी गाडी तथा अन्य अनावश्यक खर्च कटौती, कृषि क्षेत्रको सुधार र सार्वजनिक प्रशासनलाई प्रभावकारी बनाउने कामसमेत गरिएको उनले उल्लेख गरे ।
धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि रामायणसँग सम्बन्धित विभिन्न कार्यक्रम अघि बढाइएको बताउँदै उनले भारतको अयोध्यादेखि जनकपुरसम्म रेल सेवा सञ्चालनका लागि पहल गरिएको जानकारी दिए । उक्त रेल सेवाको उद्घाटनको तयारी भइरहेको पनि उनले बताए । त्यसैगरी, प्रदेशका अस्पतालमा आवश्यक उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि काम गरिएको उनको भनाइ थियो ।
मुख्यमन्त्री यादवले मधेश प्रदेशको विकास र समृद्धिका लागि आगामी दिनमा पनि निरन्तर सक्रिय रहने बताए । आफ्नो कार्यकालमा सुरु गरिएका राम्रा कामलाई आगामी सरकारले निरन्तरता दिने विश्वास व्यक्त गर्दै उनले प्रदेशको हितलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

























