कार्यसम्पादनका आधारमा प्रधानमन्त्रीको सचिवालय पुनर्गठन

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ३०, सोमबार ०५:५४

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सचिवालयको कार्यसम्पादन मूल्यांकनपछि सदस्यहरूको जिम्मेवारीमा व्यापक फेरबदल गरेका छन् ।

कामको प्रकृति र जिम्मेवारीलाई व्यवस्थित बनाउने उद्देश्यसहित उनले सचिवालयमा पहिलोपटक संयोजक र उपसंयोजकको पदसमेत सिर्जना गरेका छन् । नयाँ व्यवस्थाअनुसार पाँच जनाले सहसचिव सरहको सुविधा पाउने गरी संयोजकको जिम्मेवारी पाएका छन् भने थप पाँच जनालाई उपसचिव सरहको सुविधा दिएर उपसंयोजक तोकिएको छ ।

संयोजकको जिम्मेवारी पाउनेमा सन्जिव पाण्डे, सन्तोष गिरी, विशाल अधिकारी, दीपा दाहाल र विश्व राई छन् । पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय, गिरीलाई अन्तरनिकाय समन्वय र अधिकारीलाई सरकारी मामिला तथा योजना समन्वयको जिम्मेवारी दिइएको छ । त्यस्तै, दाहालले मिडिया व्यवस्थापन र राईले सामाजिक विकास समन्वय हेर्नेछन् ।

यसअघि उपसचिव सरहको जिम्मेवारीमा रहेका विशाल अधिकारी संयोजक बनेका छन् । दीपा दाहालको जिम्मेवारीबाट अनुसन्धान विज्ञको भूमिका हटाइएको छ । सूचना प्रविधि विज्ञका रूपमा सहसचिव सरहको सुविधा पाउँदै आएका माधव खनाल भने सचिवालयबाट बाहिरिएका छन् ।

उपसंयोजकका रूपमा सुमन गौतमलाई नागरिक उड्डयन, रविकिरण अधिकारीलाई सामाजिक विकास, प्रकृति ढकाललाई स्वास्थ्य, विनय शाक्यलाई संस्कृति तथा सम्पदा समन्वय र दीपकप्रसाद ओलीलाई नीति मस्यौदा अध्ययनको जिम्मेवारी दिइएको छ । सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्रीले पदभार ग्रहण गरेयता सदस्यहरूले गरेको कामको मूल्यांकनका आधारमा बढुवा र जिम्मेवारी परिवर्तन गरेका हुन् ।

यद्यपि, सचिवालयको उच्च तहमा भने कुनै परिवर्तन गरिएको छैन । मन्त्रीसरहका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार (बेन), राजनीतिक सल्लाहकार असिम शाह र अवैतनिक स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद अग्रवाल पुरानै जिम्मेवारीमा छन् ।

त्यस्तै, राज्यमन्त्रीसरहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र पनि यथावत् छन् । प्रमुख स्वकीय सचिव सुवास शर्मा र स्वकीय सचिव नवीन भण्डारीको जिम्मेवारीसमेत परिवर्तन भएको छैन ।

अधिकृत सरहको जिम्मेवारीमा प्रेस सहजकर्ता सुरेन्द्र बजगाईं, ग्राफिक्स डिजाइनर रोशन तामाङ, मिडिया व्यवस्थापनमा बेदानन्द जोशी र कृषि क्षेत्र समन्वयमा हेमनारायण चौधरी कार्यरत छन् । नायब सुब्बा सरहको जिम्मेवारीमा अनुप थापामगर, ऋषि थापा, अमृत पाण्डे, राजकुमार गौतम र बेनिस कार्की रहेका छन् ।

सचिवालयमा ४८ जनासम्म नियुक्त गर्न सकिने कार्यविधिगत व्यवस्था भए पनि अहिले २६ जना मात्रै कार्यरत छन् । नयाँ जिम्मेवारी बाँडफाँटसँगै प्रधानमन्त्री शाहले सचिवालयको कामलाई क्षेत्रगत रूपमा विभाजन गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.