
काठमाडौं । काठमाडौं उपत्यकामा कात्तिक महिनामा ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार ९६७ जना सवारीचालक कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने चालक छन् ।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कात्तिक १ देखि २९ गतेसम्म मापसे गरी सवारी चलाउने दुई हजार ८९२ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ७८ जना चालक कारबाहीमा परेका छन् ।
मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारी चलाउँदा सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले प्रहरीले त्यस्ता गतिविधि नियन्त्रण गर्न नियमित जाँच तथा निगरानी गर्दै आएको जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लगायत प्रचलित कानुनले मापसे र लापसे गरी सवारी चलाउन निषेध गरेको छ ।
प्रहरीले सवारीचालकलाई ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न र मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन नचलाउन आग्रह गरेको छ ।
























