
काठमाडौं । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान अभियानले थप उपलब्धि हासिल गरेको छ । भूमि समस्या समाधान समितिले सार्वजनिक गरेको सूचनाअनुसार देशका पाँच स्थानीय तहलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्यामुक्त पालिका घोषणा गरिएको छ ।
समस्यामुक्त घोषणा हुने पालिकामा बागलुङको जैमिनी नगरपालिका, डोल्पाको काइके गाउँपालिका, सोलुखुम्बुको खुम्बुपासाङल्हामु र महाकुलुङ गाउँपालिका तथा रुकुम पूर्वको भूमे गाउँपालिका रहेका छन् ।
हालसम्म देशभर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित तथा स्ववासी गरी छ हजार ७३८ परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरिएको समितिले जनाएको छ । सरकारले अब देशभर भूमिसम्बन्धी समस्या समाधानको कामलाई थप तीव्रता दिँदै सरल, सहज र छरितो प्रक्रियामार्फत लालपुर्जा वितरण गर्ने अभियान अघि बढाउने जनाएको छ ।
नागरिकको वर्षौंदेखिको भूमिसम्बन्धी समस्या समाधान गरी जग्गाको कानुनी स्वामित्व सुनिश्चित गर्ने लक्ष्यसहित सरकारले यस कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

























