
काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा किसानबाट एक लाख ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । किसानलाई उत्पादनको उचित मूल्य दिलाउने र बजारमा बिचौलियाको प्रभाव घटाउने उद्देश्यले कम्पनीले झापादेखि कञ्चनपुरसम्मका विभिन्न खरिद केन्द्र र जुम्लाबाट धान सङ्कलन गर्न लागेको हो ।
धान खरिदका लागि कम्पनीले ६७ करोड ५० लाख रुपैयाँ बजेट प्राप्त गरेको छ । सरकारले समर्थन मूल्य तोके पनि सरकारी खरिद ढिलो सुरु हुँदा किसानले निजी व्यापारीलाई सस्तोमा धान बेच्नुपर्ने अवस्था रहेको गुनासो आउने गरेको थियो । यसपटक भने बाली भित्रिने समयमै खरिद प्रक्रिया सुरु गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा किसानबाट सिधै धान खरिद गर्न आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी पूरा भएको छ । तराईका विभिन्न खरिद केन्द्र र जुम्लाको मार्सी धानलाई समेटेर कोटा निर्धारण गरिएको उनले बताए ।
खरिद विभाग प्रमुख अन्तरराज पौडेलका अनुसार स्थानीय उत्पादन, धानको जात र बजारको मागलाई ध्यानमा राखेर केन्द्रगत कोटा बाँडफाँट गरिएको छ । कम्पनीले बर्दियाको राजापुर र कैलालीको धनगढीबाट ३०–३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । धनुषाको जनकपुरबाट १४ हजार, झापाको बिर्तामोडबाट १२ हजार तथा मोरङको विराटनगर, पर्साको वीरगञ्ज र बाँकेको नेपालगञ्जबाट १०–१० हजार क्विन्टल खरिद गरिनेछ ।
त्यस्तै, सिराहाको लहान र कञ्चनपुरको महेन्द्रनगरबाट आठ–आठ हजार, रुपन्देहीको भैरहवा र दाङको तुलसीपुरबाट पाँच–पाँच हजार तथा जुम्लाबाट दुई सय क्विन्टल कालीमार्सी धान खरिद गर्ने योजना छ । जिल्लाको माग र आवश्यकताअनुसार खरिद परिमाण थपघट गर्न केही कोटा जगेडा राखिएको कम्पनीले जनाएको छ ।

























