
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार चीनको सेन्जेनमा त्रिपक्षीय शिखर वार्ता हुँदैछ । एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा हुन लागेको यस भेटवार्तामा आणविक हतियार, इरान र युक्रेन युद्धलगायतका विषयमा छलफल हुने राष्ट्रपति ट्रम्पले बताएका छन् ।
चीन भ्रमणका क्रममा ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पनि भेट्ने इच्छा व्यक्त गरेका छन्। ट्रम्पको पहिलो कार्यकालमा उनीहरूबीच तीनपटक भेटवार्ता भएको थियो । शिखर वार्ता हुनुअघि बुधबार राति तीनै देशका नेताहरू एपेक सम्मेलनको स्वागत समारोहमा सहभागी भएका थिए ।
अमेरिका, चीन र रुसबीच युक्रेन युद्ध, ताइवान, इरान तथा आणविक हतियार नियन्त्रणका विषयमा लामो समयदेखि मतभेद रहँदै आएको छ । यी जटिल भू-राजनीतिक मुद्दाहरू वार्ताको प्राथमिकतामा रहने अपेक्षा गरिएको छ ।
यसअघि अमेरिकी पूर्वउपराष्ट्रपति माइक पेन्सले चीनसँगको सम्बन्धमा अमेरिकाको सुरक्षा चासो र असन्तुष्टि स्पष्ट रूपमा राख्न ट्रम्पलाई आग्रह गरेका थिए। उत्तर कोरियासँगको सम्भावित वार्तामा आणविक कार्यक्रमको विषयलाई पनि महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

























