
झापा । दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । मंसिर ५ गतेदेखि शिवसताक्षीस्थित दुधे रंगशालामा हुने प्रतियोगिताका लागि आयोजक झापा महिला गोल्डकपले तालिका सार्वजनिक गरेको हो ।
आयोजक झापा महिला गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार उद्घाटन खेलमा आयोजक झापा ११ फुटबल क्लबको महिला टोली र आरएस पोखरा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो खेल मंसिर ६ गते त्रिभुवन आर्मी फुटबल क्लब र भारतको नयाँ दिल्लीस्थित एभी फुटबल क्लबबीच हुनेछ । मंसिर ७ गते हुने तेस्रो खेलमा एपीएफ फुटबल क्लब र भुटानको थिम्पु राभेन वुमेन्स फुटबल क्लब भिड्नेछन् । चौथो खेल मंसिर ८ गते नेपाल पुलिस फुटबल क्लब र बागमती युथ क्लबबीच हुनेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनल मंसिर ९ गते र दोस्रो सेमिफाइनल मंसिर १० गते हुनेछ । फाइनल खेल मंसिर १२ गते आयोजना गरिनेछ ।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख ५० हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछ । गत संस्करणको तुलनामा यसपटक विजेताको पुरस्कार राशि ९० हजार र उपविजेताको ५० हजार रुपैयाँले बढाइएको अध्यक्ष सन्तोष थोप्रा लिम्बुले बताए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ र ट्रफी पाउनेछन् ।
पहिलो संस्करणको उपाधि नेपाल पुलिस फुटबल क्लबले जितेको थियो । यसपटक भारत र भुटानका टोलीको सहभागिताले प्रतियोगिता थप प्रतिस्पर्धात्मक हुने आयोजकको अपेक्षा छ ।
अध्यक्ष थोप्राका अनुसार बिक्री हुने प्रत्येक टिकटबाट १० रुपैयाँ आदिवासी जनजाति दृष्टिविहीन तथा अटिजम भएका बालबालिकाको सहयोगमा खर्च गरिनेछ । प्रतियोगिताका लागि सामान्य टिकटको मूल्य १०० देखि ५०० रुपैयाँसम्म र भिआइपी टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ ।
दर्शक व्यवस्थापनका लागि मैदानको पूर्वतर्फ ग्याल्भनाइज्ड स्टिलका पाइप, क्ल्याम्प तथा कप्लर प्रयोग गरेर अस्थायी प्यारापिट निर्माण गरिएको छ । प्रत्येक खेलमा करिब सात हजार दर्शक अटाउन सक्ने क्षमता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष थोप्राले बताए । उनका अनुसार खेलमैदान र दर्शक व्यवस्थापनलगायतका तयारी पूरा हुने क्रममा छन् ।

























