
विराटनगर । मोरङको केराबारीमा एक महिलाले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी छन् । केराबारी गाउँपालिका–८ की ३७ वर्षीया एक महिलाले आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाई आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय भीमबहादुर लिम्बूकी छोरी कल्पना लिम्बूले बिहीबार साँझ ६ः१० बजेतिर आफ्नै घरपछाडिको करेसाबारीमा गएर शरीरमा मट्टितेल खन्याई आगो लगाएकी हुन् ।
घटनाबारे स्थानीयले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय केराबारीको टोलीले स्थानीयको सहयोगमा उनको उद्धार गरेको थियो । उद्धारपछि उनलाई काका जोगेन्द्र लिम्बूको जिम्मा लगाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनको शरीरको बाहिरी भाग करिब ६० प्रतिशत जलेको छ। उनको अवस्था गम्भीर रहेको छ । प्रारम्भिक जानकारीअनुसार उनी लामो समयदेखि मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेको र नियमित औषधि सेवन गर्दै आएको बुझिएको प्रहरीले जनाएको छ।

























